• १९ वैशाख २०८१, बुधबार

तीन गाउँका तीन सय छयहत्तर घरमा खानेपानी

blog

जुम्ला समाचारदाता

जुम्ला, साउन १३ गते । हिमा गाउँपालिकाका तीन वटा गाउँका सबै घरधुरीमा खानेपानी धारा पु-याइएको छ। हिमा गाउँपालिका–४ बड्कीका १६१ घरधुरी, पाँच वटा कार्यालय गरी १६६ धारा, वडा नं. ५ बाजगाडमा १३६ घरधुरी र वडा नं. ६ को डाँडाबाडामा ७४ घरधुरीको प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको छ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बड्की गाउँका १६१ घरधुरीमा पनि खानेपानी पु-याइएको जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारको सबै घरधुरीमा खानेपानी पु-याइने लक्ष्य अनुसार काम भइरहेको बताउनुभयो। 

उहाँका अनुसार पर्याप्त खानेपानी नागरिकको संवैधानिक अधिकारसमेत भएकाले सो अभियान अन्तर्गत यस वर्ष हिमाको बड्की, बाजागाडा र डाँडाबाडामा खानेपानी पु-याइएको छ।  गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले खानेपानी जनताको घरमा पु-याउने लक्ष्यको सुरुवात भएको बताउनुभयो।उपभोक्ता समितिका अध्यक्ष पुरबहादुर शाहीले स्थानीयलाई  खानेपानी सुविधा पुग्नु निकै राम्रो काम भएको बताउनुभयो।

बड्की गाउँका सबै घरधुरीमा खानेपानी पु-याउन स्थानीयको अगुवाइमा बड्की खानेपानी तथा सरसफाइ आयोजना सुरु गरिएको थियो। जसमा अनुमानित एक करोड १२ लाख ६८ हजार रुपियाँमध्ये एक करोड ११ लाख ६६ हजार रुपियाँ खर्च भएको छ।

हिमा गाउँपालिका, फिनल्याड सरकार र युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय आयोजना (सुस्वा) अन्तर्गत तीन वटै गाउँका सबै घरधुरीमा खानेपानीको पहुँच पुगेको वासका संयोजक सुमिता शाहीले जानकारी दिनुभयो। बुधबार हिमा गाउँपालिकाको बड्की गाउँमा खानेपानी धाराको उद्घाटन गरिएको थियो।