फडिन्द्र अधिकारी
लेखनाथ, साउन १२ गते । पोखरा महानगरको सडक दुर्गन्धित बनेको छ । बिहीबारदेखि फोहोर नउठेपछि सडकमै फोहोर थुप्रिंदा बजार क्षेत्र नै दुर्गन्धित भएको हो । महानगरले अस्थायी रुपमा वडा नम्बर ३२ को लामेआहालमा फोहार व्यवस्थापन गर्दै आएको थियो ।
पोखरा–१४, बाच्छेबुडुवाको ल्याडफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बन्द गर्नुपरेपछि महानगरले वैकल्पिक व्यवस्था खोजेको थियो । वैकल्पिक रुपमा खोजिएको ठाउँ लामेआहाल आसपासका स्थानीयले फोहोर फाल्न आवरोध गरेका हुन् । महानगरले आफूहरुसँग गरेको सम्झौता अनुसार फोहोर व्यवस्थापन नगरेको उनीहरुको जिकिर छ ।
लामेआहालका स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि बिहीबारदेखि फोहोर नउठेको महानगरपालिकाकी सरसफाई शाखा प्रमुख कल्पना बरालले बताउनुभयो । “त्यहाँ हामीले राम्रै तवरले व्यवस्थापन गरेका थियौं । उहाँहरुसँग अहिले हामी छलफलमै छौँ । छलफलपछि फोहोर उठ्छ,” उहाँले भन्नुभयो ।
स्थानीयले ल्यान्डफिलमा फोहोर व्यवस्थापन उचित तवरले नहुँदा दुर्गन्ध फैलिएको, सडक कच्ची हुँदा वर्खामा हिलो र हिउँदमा धूलोलेसास्ती खेप्नु परेको भन्दै त्यहाँ फोहोर ल्याउन रोकेका हुन् । लामेआहालस्थित सेती नदी किनारमा महानगरले पुस दोस्रो सातादेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको छ ।
सम्झौताअनुसार महानगरले काम नगरेकाले फोहोर फाल्न अवरोध गरेको स्थानीय भवानीप्रसाद पौडेलले दाबी गर्नुभयो । “महानगरलाई व्यवस्थित ढङ्गबाट फाहोर व्यवस्थापन गर्ने भनेर सात महिनाका लागि फोहार फाल्न दिएका हौँ । महानगरपालिकाले एक प्रतिशत पनि सम्झौता कार्यान्वयन गरेन । अव्यवस्थित ढङ्गले फोहोर फाल्ने, दुर्गन्ध फैलिने भयो,” उहाँ भन्नुहुन्छ ।
अब उप्रान्त त्यहाँ ठाउँमा फोहोर फाल्न नदिने पौडेलले सुनाउनुभयो । आफूहरुले महानगरलाई अप्ठ्यारो परेको बेला फोहोर फाल्न दिएको र ७ महिना पुग्न केही दिनमात्रै बाँकी रहेको उहाँको भनाइ छ । स्थानीयले साउन १ गते महानगर प्रमुख धनराज आचार्यलाई सम्झौता कार्यान्वयन गर्न माग गर्दै पत्र बुझाएका थिए । पत्रमा १५ दिनभित्र सम्झौता पुरा नगरे फोहोर फाल्न नदिने चेतावनी दिइएको थियो ।
पोखरा महानगरले वडा नम्बर ३३ को पुँडिटार क्षेत्रमा रहेको झाक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्याडफिल साइट बनाउन निर्णय गरिसकेको छ । पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले झाक्रीखोला, देब्रेखोला क्षेत्रमा जग्गा प्राप्तिपछि फोहोर व्यवस्थापन हुने बताउनुभयो ।
पोखरा महानगरले यसपालि भने ल्याडफिल साइट नभएर फोहोर प्रशोधन केन्द्र बनाउने भएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय टेन्डर भइसकेको छ । महानगरका प्रमुख धनराज आचार्यले जग्गा प्राप्ति अन्तिम चरणमा रहेको र चाडै आधुनिक फोहोर प्रशोधन केन्द्र बन्ने उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ, “ग्लोबल टेन्डर गरी त्यसमा टेन्डर गर्ने पाँच कम्पनीमध्ये ३ कम्पनी छानिएका छन् । हामी आरएफटी माग्ने चरणमा छौं । चार–अर्ब लगानी हुने खालका प्रस्ताव आएका छन् ।” उहाँले निर्माण कम्पनी छनोट भएपछि एक वर्ष हाराहारीमा प्रशोधन केन्द्र बन्ने जानकारी दिनुभयो । अहिले फोहोर व्यवस्थापन भइरहेको लामेआहाल क्षेत्रका स्थानीयसँग गरिएका सबै प्रतिवद्धता पुरा गर्ने जनाउँदै डंगुको महामारी बढिरहेको अवस्थामा फोहोर व्यवस्थापनमा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।
महानगरले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडेलमा प्रशोधन केन्द्र बनाउन लागेको हो । झाक्रीखोला, देब्रेखोला क्षेत्रमा व्यक्तिको ९६ रोपनी र बाँकी सार्वजनिक जग्गामा केन्द्र बनाउने तय भइसकेको छ । जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय भई मुआब्जा वितरणका लागि ३५ दिने सूचना जारी हुने तयारी भएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।