• २० असोज २०८१, आइतबार

चटपटे बेचेर राम्रो आम्दानी

blog

आफ्नो घर अगाडि ठेलामा चटपटे बेच्न बस्नुभएका प्रकाशपुर मङ्गलवारेका मदन चन्द्रवंशी ।

बाबुराम कार्की

बराहक्षेत्र (सुनसरी) साउन १२ गते। प्रकाशपुर मङ्गलवारेका मदन चन्द्रवंशी कुनै नौलो नाम होइन। विद्यालय जान थालेका बालबालिकादेखि  कपाल फुलेका बुढापाकाले समेत मदनलाई चिन्छन्। उहाँ चटपटे बेचेर चर्चित हुनुहुन्छ। 

२०४२ मा बाबुसँग साथ लागेर १२ वर्षको उमेरदेखि नै चटपटे बेच्दै आउनुभएका उहाँको आधा जिन्दगी चटपटे घोलेरै बितिसकेको छ। चटपटे बेचेर उहाँले राम्रो आम्दानीसमेत गर्नुभएको छ। 

दिउँसो बेच्ने चटपटेका लागि चाहिने आवश्यक सामग्री बिहानै जुटाउनु उहाँको पहिलो काम हो। पहिला टाउकोमा चटपटेको बाकस बोकेर हटिया हटिया डुलाएर बेच्ने मदनले २० वर्षदेखि ठेला बनाएर चटपटे बेच्दै आउनुभएको छ। 

प्रकाशपुर, राजावासका युवापुस्ता र विद्यालय जाने बालबालिका चटपटेको कुरा गर्नेबित्तिकै मदनलाई सम्झन्छन्। गाउँमै बसेर तीन दशकदेखि निरन्तर चटपटे बेच्दै आउनुभएका मदनले प्रकाशपुरमा १३ कठ्ठा जग्गासमेत जोड्नुभएको छ।

मदन भन्नुहुन्छ, ‘सानो व्यवसाय भनेर हेला गर्न नहुने र निरन्तर लागीराखे त्यहीबाट जीवनलाई सफल बनाउन सकिन्छ। चटपटेबाटै चार जना  छोराछाेरीलाई पढाएको छु। जेठो छोराले १२ कक्षा सकेको छ। माइलो स्नातक पढ्दै छ। कान्छो १२ मा पढ्दै छ। एक छोरीको एसईई पासपछि बिहे गरिसकेको छु। तीनतले पक्का घरसमेत बनाएको छु। मेरो अहिले सम्मको आम्दानीको स्रोत भनेकै त्यही चटपटे बेचेर आउने पैसा हो।’’

निरन्तर रुपमा लगनशील भएर लागेपछि चटपटे व्यापारले घर व्यवहार चलेर सम्पत्ति जोडेको उहाँको अनुभव छ। 

उहाँको पसलमा सामान्य चना, भुजिया, मटर, भटमास, मसला, नुन खोर्सानी, टमाटर, कागती हुन्छ। यिनै कुरा मिसाएर चटपटे बनाएर प्रकाशपुरका बासिन्दालाई चटक्क मुख मिठ्याउने सीप उहाँसँग छ। उहाँ दैनिक रुपमा चटपटे बेचेर त्यसैबाट आम्दानी गरेको रकम  स्थानीय सहकारीमा बचत गर्नुहुन्छ।

 मदन चटपटेका पाराखीहरु लोभ्याउने चटपटे बनाउने भएकैले उनकोमा चटपटे खान सधै आउने गरेको बराहक्षेत्र १० का वडाध्यक्ष तेजबहादुर गुरुङ्ले बताउनुभयो।

 दैनीक सात सयको सामान हाल्दा दुई हजारसम्म दैनिक आम्दानी गर्ने उहाँको भनाइ छ।  मदनको परिवारलाई गाउँ घरमा चटपटेको परिवार भनेर चिनिन्छ। मदनको दाजु पनि चटपटे बेच्दै आएका छन्। सानो काम र ठुलो काम छुट्याउनेलाई मदन उदाहरण बनेका छन्। चटपटे बेचेरै मदनले सानो कामबाटै लाखौं आम्दानी मात्र गरेका छैन घर, परिवारको रेखदेख र खुशीलाई सँगसँगै अगाडि बढाएका छन्।