• १४ मंसिर २०८१, शुक्रबार

नयाँ व्यवसाय दरमा ५८ प्रतिशत कमी

blog

मीना कँडेल

कावासोती,साउन १२ गते । नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रुपमा घटेको छ । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-०७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको हो । 

आर्थिक मन्दिको असरले गर्दा बजार सुनसान छ, मानिसको आम्दानी घटेको छ भने खर्च बढेको छ । यसको असर व्यापार व्यवसायमा पनि देखिएको छ । व्यापारीहरु व्यापारले पहिला जस्तो गति लिन नसकेको गुनासो गर्छन् । आर्थिक मन्दिका कारण मानिसले खर्च कटौती गर्न थालेकोले त्यसको असर व्यापारमा परेको कावासोतीका व्यापारी एकनारायण पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला–पहिला ग्राहकले चाहिनेभन्दा बढी सामान किन्थे । अहिले त चाहिएको सामान पनि किन्न छाडेका छन् । व्यापार त आधाले घटेको छ ।”

गैँडाकोटमा रहेको अभिषेक वस्त्रालयमा पहिला दिनहुँ एक लाखसम्म व्यापार हुने गरेकोमा अहिले व्यापार घटेको सञ्चालक रवीन्द्र अधिकारीले बताउनुभयो । अहिले त दिनभर पसलमा बसे पनि कहिलेकाहीँ त दुई चारहजार पनि व्यापार हुन छाडेको गुनासो गर्नुभयो ।

नवलपुरमा आर्थिक वर्ष २०७८-०७९ एक हजार ५० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्षमा भने जम्मा ४ सय ३८ वटा नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो । गतवर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योगहरू धेरै छन् । व्यवसायमा देखिएको आर्थिक मन्दिको समस्या कम गर्न देशमा आर्थिक चलायमान बाहेक अरु विकल्प नभएको प्रमुख खनालले बताउनुभयो । 

नयाँ उद्योग दर्ता सहित पुराना खारेजी गर्ने क्रमसमेत बढेको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा ७५ वटा पुराना उद्योग खारेजी भएका छन् । आर्थिक वर्ष ०७८-०७९ मा ६४ र ०७७-०७८ मा ४५ उद्योग खारेज भएका थिए । 

आर्थिक वर्ष २०७९-८० को असार मसान्त सम्मको तथ्याङ्क अनुसार नवलपुरमा नयाँ थपिएका उद्योग सहित जम्मा उद्योगको सङ्ख्या ६ हजार ७४७ पुगेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८-७९ मा करिब एक करोड राजस्व सङ्कलन भएकोमा आर्थिक वर्ष २०७९-८० मा घटेर करीब ७७ लाख राजस्व सङ्कलन भएको छ ।