• ११ मंसिर २०८१, मङ्गलबार

यार्सागुम्बासहित एक जना पक्राउ

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन १२ गते । अवैध रुपमा जडीबुटी विक्री वितरण गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीले जुम्लाका एक जना खुद्रा व्यापारीलाई पक्राउ गरेको छ । एक सय ६० पिस (५३ ग्राम) यार्सागुम्बा र एक सय ग्राम सिलाजित अवैध रुपमा विक्री गर्दै हिँडेको भन्दै प्रहरीले जुम्लाको सिंजा-४ का लीलाराज बुढालाई पक्राउ गरेको हो । 

अवैध रुपमा विक्री वितरण गर्दै आएको भन्ने सुराकीका आधारमा शङ्कास्पद व्यक्तिलाई बेनी बजारमा भेटी खानतलासी गर्दा यार्सागुम्बा र सिलाजित भेटिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जडीबुटी विक्री वितरण गर्ने तथा सङ्कलन गर्ने जस्ता कुनै पनि आधिकारिक कागजात नभेटिएपछि प्रहरीले उनलाई पक्राउ गरी डिभिजन वन कार्यालय म्याग्दीलाई जिम्मा लगाएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार अवैध रुपमा भेटिएको यार्सागुम्बाको एक हजार छ सय ४३ र शिलाजितको पाँच रुपियाँ गरी कुल एक हजार छ सय ४८ रुपियाँ बिगोसहित मुद्दा अगाडी बढाइएने छ । सरकारी दर अनुसार यार्सागुम्बाको ३१ हजार रुपियाँ र सिलाजितको प्रतिकेजी ५० रुपियाँ राजस्व दाखिला गरेपछि विक्रीको अनुमति मिल्ने भएकाले त्यसैको आधारमा बिगो र जरिवाना मागसहित मुद्दा प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ छ ।

जडीबुटी अवैध कारोबार गर्ने बुढाविरुद्ध वन ऐन-२०७६ अनुसार आवश्यक कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रानाभाटले बताउनुभयो ।