• २१ असार २०८१, शुक्रबार

लम्पी स्किन : गोठ गोठमा पशुको उपचार

blog

गोठमा पुगेको गाउँपालिकाको टोली ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन १२ गते । धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र पशु स्वास्थ्य प्राविधिकहरु औषधिसहित बिरामी परेका पशुको उपचारका लागि किसानको गोठमा पुगेका छन् । महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशुचौपायाहरु बिरामी पर्न थालेपछि जनप्रतिनिधिसहितको टोली औषधि लिएर हिमाली क्षेत्रको लेकका बुकीमा पुगेका हुन् । 

गाई गोरु लम्पी स्किन रोगबाट बिरामी परेपछि नियन्त्रणका लागि गाउँपालिकाले जनप्रतिनिधि, पशु स्वास्थ्य प्राविधिक र कर्मचारीहरुको टोली उच्च हिमाली भेगमा रहेका चरन क्षेत्रहरुमा परिचालन गरेको छ । 

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वडा नम्बर ३ का अध्यक्ष देवेन्द्र रोकालगायतको टोली औषधिसहित करिब दुई दिन जङ्गलमा पैदलयात्रा गरेर ढोरपाटन शिकार आरक्ष नजिकैको बुकीमा पुगेको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधि, प्राविधिक र कर्मचारीको चार वटा टोली रुवाचौर, नौतले, जलजला र धन्समानेको बुकीको गोठमा परिचालन भएको टोलीमा सहभागी धवलागिरी गाउँपालिकाका रोजगार संयोजक देविन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘लम्पी स्किन रोगबाट चरन क्षेत्रमा रहेका गाईगोरु बिरामी परेको र केही मरेको सूचना पाएपछि औषधि सहित गाउँपालिकाको टोली बुकीको खर्कमा आएर उपचारमा सुरु गरेका छौं ।’’ बुकी क्षेत्रमा रहेका सबै गोठहरुमा पुगेर बिरामी पशुको उपचार गरिने पालिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । 

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने लुलाङ, खोरिया, लमसुङ, मुना, फलियागाउँ, दरका कृषकहरुले बर्खामा चरणका लागि गाई, गोरु, भैँसी, भेडा लिएर समुद्री सतहदेखि तीन हजार मिटरभन्दा बढी उचाइमा रहेका बुकीमा गोठ लगेका छन् । बुकीमा लम्पी स्किन महामारीको रुपमा फैलिएपछि नियन्त्रण गर्न गाउँपालिकाको टोली त्यहाँ पुगेको हो  ।

लम्पी स्किनबाट बिरामी गाईगोरुको उपचारका लागि गाउँपालिकाले औषधि खरिद गरेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन विरुद्धको भ्याक्सिन उपलब्ध गराएको थियो ।