• २० असोज २०८१, आइतबार

करदाता सेवा कार्यालय ओखलढुङ्गाबाट ३२ करोडभन्दा बढी राजस्व सङ्कलन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, साउन १२ गते । करदाता सेवा कार्यालय ओखलढुङ्गाले राजस्व सङ्कलन दर वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-०७९ भन्दा आर्थिक वर्ष २०७९-०८० मा तीन करोडभन्दा बढी राजस्व सङ्कलन गरेको हो । 

यस्तै, करदाता सेवा कार्यालयले आर्थिक वर्ष २०७९-०८० मा ३२ करोड २९ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा २९ करोड ४२ लाख १६ हजार राजस्व सङ्कलन भएको थियो । आव २०७९-०८० मा सबैभन्दा बढी आयकर वापत २० करोड ५६ लाख ३६ हजार, मूल्य अभिवृद्धि कर वापत १० करोड छ लाख ९७ हजार, घर बहाल कर वापत एक करोड १५ लाख ५१ हजार राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय ओखलढुङ्गाका निमित्त प्रमुख नेत्रप्रसाद बाँस्तोलाले बताउनुभयो । 

अन्त शुल्क वापत २६ लाख ४४ हजार, ब्याज कर २४ लाख ३७ हजार र शिक्षा सेवा कर वापत दुई हजार मात्रै राजस्व सङ्कलन भएको निमित्त प्रमुख बास्तोलाले जानकारी जानकारी दिनुभयो । आव २०७९-०८० मा ३४ करोड ७३ लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा केही कम ९२.९७ प्रतिशत राजस्व सङ्कलन भएको उहँको भनाइ छ । व्यवसाय गर्न छोड्ने, कर कार्यालय लाहानमै गएर राजस्व बुझाउने र व्यवसायमा घाटा हुने जस्ता कारणले लक्षभन्दा केही कम राजस्व सङ्कलन भएको निमित्त प्रमुख बाँस्तोलाले बताउनुभयो । 

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷०८० मा नौं हजार ५४६ व्यावसायिक पान दर्ता, पाँच हजार २० व्यक्तिगत पान दर्ता, मु.अ कर दर्ता ५८९, अन्तः शुल्क दर्ता २९८ टि.डि.एस पान दर्ता २५१ दर्ता भएका छन् । यस कार्यालयमार्फत ओखलढुङ्गाका सबै स्थानीय तह साथै सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका बाहेकका पालिकालाई सेवा दिने गरिएको छ । 

यसअघि करसम्बन्धी कामका लागि यी दुई जिल्लाका नागरिक सिराहाको लाहान जानुपर्ने बाध्यता थियो ।