काठमाडौं, साउन १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सदुपयोग हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सदुपयोगमा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनुपर्ने बताउनुभएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘‘दाताले दान गरेको रगत सदुपयोग नभए त्यो अपराध हो । त्यस्तो हुनु हुँदैन ।’’ विश्व मै नेतृत्वदायी भूमिका खेलिरहेको रेडक्रसले आफ्नो छवि धमिलो बनाउने कामबाट टाढै रहन मन्त्री बस्नेतले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पवित्रतामा थोरै धमिलो भए पनि छवि बिग्रिन्छ । रेडक्रस जस्ता संस्थाले यो कुरा बुझ्नुपर्छ ।’’
कार्यक्रममा मन्त्री बस्नेतले रक्तदानमा उल्लेखनीय सेवा गरेका विभिन्न व्यक्ति र संस्थाहरुलाई सो अवसरमा सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा रेयूकाई नेपाल, रोटरी क्लव, स्वयंसेवी रक्तदाता समाज, ब्लोदान, विभिन्न नगरपालिका, रेडक्रसका विभिन्न जिल्ला शाखासहित कर्मचारी र सामाजिक संस्थाहरु छन् ।
कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाले एक वर्ष अगाडि गरिएको अनुसन्धानले नेपालका ब्लड बैंकहरुको अवस्था दयनीय रहेको देखाएको जानकारी गराउनुहुँदै ब्लड बैंकहरुको सुधारमा रेडक्रसले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
रक्तसञ्चार केन्द्रले लिने गरेको सेवा शुल्कसम्बन्धी पनि विरोध आउने गरेको स्मरण गराउनुहुँदै डा.झाले गुनासो नआउने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो । रेपिड टेष्टको प्रयोगका विषयमा अन्तर्राष्ट्रिय स्तरमा समेत कुरा उठेकाले रेपिड टेष्ट बन्द नै गर्नुपर्ने डा.झाको सुझाव थियो ।
समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले मानवीय सेवालाई मूल लक्ष्य बनाएको रेडक्रसले त्यही लक्ष्य अनुसार काम गर्नुपर्ने बताउनुहुँदै परिषद्ले असल काममा सधै सहयोग गर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसले सबै मानविय सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।