• १२ साउन २०८१, शनिबार

कर्णालीका उत्पादनमा ‘मूल्यवान्’ प्रतीक चिह्न

blog

सुर्खेत समाचारदाता

सुर्खेत, साउन १२ गते । मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा उत्पादित वस्तुमा प्रयोग गर्ने गरी ‘मूल्यवान्’ अङ्कित प्रतीक चिह्न सार्वजनिक गर्नुभएको छ। मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको कृषि उत्पादन मूल्यवान रहेको चर्चा गर्दै कर्णालीको विकासमा कृषिको योगदान पनि महत्वपूर्ण हुने भएकाले किसानलाई प्रेरणा दिने कार्ययोजना ल्याइएको बताउनुभयो। 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको प्रतीक चिह्न बिहीबार सार्वजनिक गरिएको हो। मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेका अनुसार कर्णालीलाई प्राङ्गारिक प्रदेश बनाउने सरकारको निर्णय भएकाले त्यसलाई मूर्त रूप दिन ‘मूल्यवान्’ प्रतीक चिह्न सार्वजनिक गरिएको हो। कर्णालीमा रैथाने बालीको बजार प्रवर्धन गर्न सकिने सम्भावना भएको र त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजान प्रतीक चिह्न ल्याइएको हो। कर्णालीमा १२ प्रतिशत मात्रै खेतीयोग्य जमिन छ। त्यो पनि ९० प्रतिशत जमिन भिरालो भएकाले आकासे पानीको भर पर्नु पर्दछ। कर्णालीमा स्याउ, सुन्तला, अदुवा र आलुको अत्यधिक सम्भावना रहेको बताइन्छ। 

कर्णाली प्रदेशमा रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक कृषिलाई मन्त्रालयले प्राथमिकता दिएको छ। सचिव डा. घिमिरेले कर्णालीका ७९ वटा पालिकामध्ये ४१ वटा पालिकाका १०३ वटा वडा प्राङ्गारिक कृषि उत्पादनमा संलग्न भइसकेको छ। 

बाँकी ३८ वटा पालिका पनि प्राङ्गारिक कृषिमा जोडिने तयारीमा रहेका छन्। कर्णालीलाई प्राङ्गारिक कृषितर्फ उन्मुख गराउन मन्त्रालयले दीर्घकालीन योजना पनि अघि सारेको छ। सचिव डा. घिमिरेले सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा विषादी प्रयोगशाला सञ्चालनमा ल्याउने, प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्ने, प्राङ्गारिक विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको बताउनुभयो। साबिक कर्णालीमा पाँच जिल्लासहित सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिम प्राङ्गारिक कृषितर्फ उन्मुख गराउन विभिन्न गतिविधि सञ्चालन गरिने बताइन्छ।

सो अवसरमा कर्णालीको प्राङ्गारिक कृषि–वर्तमान अवस्था तथा भावी कार्यदिशाका सम्बन्धमा विभिन्न रायसुझाव पनि सङ्कलन गरिएको थियो। सो क्रममा कर्णालीलाई प्राङ्गारिक प्रदेश बनाउने, त्यसमा लाग्न कृषकलाई हौसला दिने कार्यक्रम ल्याउन सुझाव दिइएको थियो।