बाबुराम शर्मा
दोलखा, साउन १२ गते । दोलखाको कालिञ्चोक कुरीका होटेल व्यवसायीहरूलाई स्थानीय प्रशासनले होटेलमा मूल्यसूची राख्न निर्देशन दिएको छ ।
पर्यटकहरूसँग चर्को मूल्य असुलेको गुनासो बढेपछि जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका तथा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेपछि मूल्यमा एकरुपता ल्याउन होटेलमा मूल्यसूची राख्न निर्देशन दिइएको हो ।
आगामी जनैपूर्णिमासम्म होटेलहरुमा मूल्यसूची राख्न निर्देशन दिइएको छ । कालिञ्चोक कुरीमा सञ्चालित कतिपय होटेलहरुले अहिलेसम्म खाना परिकार तथा लजको मूल्यसूची राखेका छैनन् । ग्राहकहरूसँग आ–आफ्नै तरिकाले रकम असुलेको गुनासो आएपछि संयुक्त रूपमा अनुगमन गरी मूल्यसूची राख्न निर्देशन दिइएको कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले करोडौँको लगानीमा बनेका होटेलहरुमा मूल्यसूची नहुनु दुःखद भएको बाउँदै तोकिएको समयमा ( भदौ १४ गतेसम्म ) सबै होटेल व्यवसायीहरूले आ–आफ्ना होटेलहरुमा मूल्यसूची नराखे नियमानुसार कारबाही गरिने चेतावनी दिनुभयो ।
मूल्यसूची व्यावसायिक दृष्टिले पनि अपरिहार्य रहेको जानकारी दिँदै उहाँले यसमा प्रशासनले ताकेता गर्नु नपर्ने विषय नभएको स्पष्ट पार्नुभयो । मनमोहक एवम् सुन्दर कालिञ्चोक कुरीमा साना ठुला गरी करिब ७० भन्दा बढी होटेल सञ्चालनमा छन् ।