• १३ मंसिर २०८१, बिहिबार

हाङझाव एसियाडमा नेपालका २ सय ३४ खेलाडी

blog

छलफलमा सहभागी खेल पदाधिकारीहरु ।

काठमाडौं, साउन ११ गते । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्कामा बिहीबार भएको १९औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेल सङ्घको छलफल कार्यक्रममा परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने जानकारी गराउनुभयो । 

‘‘नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउने छ । खेलाडीले एक्सपोजर पाउन् भनेरै निकै मेहनत गरे खेलाडी सङ्ख्या २३४ पु¥याउन सफल भयौँ ।’’ सदस्य–सचिव घिसिङले भन्नुभयो, ‘‘एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि हामीले २४ करोड माग गरेका थियौँ । २१ करोडको सहमति प्राप्त भइसकेको छ । बाँकीका लागि प्रयास भइरहेको छ ।’’

सदस्य सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि सङ्घलाई तयारी थाल्न बताउँदै कुनै सङ्घले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेस गर्न बताउनुभयो । उहाँले आवश्यक पर्ने खेल सामाग्रीको तुरुन्त विवरण तयारी गरी प्रक्रिया अगाडि बढाउन तयारी सचिवालयलाई निर्देशन दिनुभयो ।

नेपाल ट्रायथलन सङ्घका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित सङ्घले पनि प्रयास गर्नु पर्नेमा जोड दिँदै परिषद् र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताउनुभयो ।

कार्यक्रममा तयारी सचिवालयबाट भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो । उपस्थित सङ्घका प्रतिनिधिले खेलाडीको प्रशिक्षण, सुविधा, बसोबास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामाग्री, स्पाइरिङ पार्टनर, बिमालगायतका विषयमा धारणा राख्नुभएको छ । हाङझाव एसियाड असोज ६ गतदेखि सुरु हुँदैछ ।