• १४ मंसिर २०८१, शुक्रबार

कावासोतीका तीन पाउरोटी उद्योग पाँच दिन बन्द

blog

कावासोती नगरपालिकामा रहेका पाउरोटी उद्योगमा अनुगमन । तस्बिर : मीना कंँडेल

मीना कंँडेल
कावासोती, साउन ११ गते ।
पूर्वी नवलपरासीको कावासोती नगरभित्रका पाउरोटी उद्योगमा अनुगमन गरेको छ । कावासोती नगरपालिकाले तीन दिनसम्म पाउरोटी तथा बेकरीजन्य उत्पादनको अनुगमन गरेको थियो । जसमध्ये कावासोतीमा रहेको लालीगुँरास पाउरोटी उद्योग, रुवी पाउरोटी उद्योग, केएफसी बेकरी, कमल पाउरोटी उद्योग र अनिल पाउरोटी उद्योगको अनुगमन गरिएको थियो ।

अनुगमन गर्ने क्रममा उत्पादन स्थलको सरसफाइ नभएको पाइएको छ । साथै दर्ता नभएको, नवीकरण नगरेको, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएको भेटिएपछि तीन वटा पाउरोटी उद्योगको उत्पादन बन्द गरिएको बजार अनुगमन संयोजक मीन लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कमल पाउरोटी उद्योग, अनिल पाउरोटी उद्योग र लालिगुँरास उद्योगलाई तीनदेखि पाँच दिनका लागि उत्पादन बन्द गरिएको छ ।” नगरभित्र सञ्चालनमा रहेका उद्योग उपभोक्ताले सिधै उपभोग गर्ने वस्तुको उत्पादन स्थलमा फोहोर, उत्पादन गर्ने साँचोमा खिया लागेको, झिँगा, दुर्गन्ध, कामदारहरुले सरसफाइमा ध्यान नदिएको पाइएको छ । सरसफाइमा ध्यान नदिएको पाइएपछि पाँच दिनसम्मका लागि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो ।


अनुगमनका क्रममा पकाउन तयारी अवस्थामा रहेको १५० केजी मैदा, तयारी अवस्थाका उत्पादन २६ ट्रे, लेबल नलगाएको, म्याद गुज्रेको बिस्कुट, पाउरोटी २९८ प्याकेट, ६ बोरा विभिन्न उत्पादन बरामद गरिएको संयोजक लामाले बताउनुभयो ।

उपभोक्ताको स्वास्थ्यसँग जोडिएको हुँदा खाद्यपदार्थहरु बिक्री वितरण गर्ने सङ्घसंस्थाले जनस्वास्थ्यलाई ध्यान दिएर मात्रै व्यापार व्यवसाय गर्न नगरप्रमुख विष्णु भुषालले आग्रह गर्नुभयो । बजार अनुगमन शाखाले गरेको अनुगमनमा जिल्ला प्रशासन, पर्यटन तथा घरेलु उद्योग, उपभोक्ता हकहित संरक्षण मञ्ज, उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रहरीलगायतको सहभागिता थियो ।

नगरपालिकाले अनुगमनका क्रममा बरामद गरेको अखाद्य वस्तुहरुलाई नष्ट गरेको छ । वडा नम्बर ३ को केरुङ्गेखोला नजिकैको च्यानघारीमा बरामद गरिएका अखाद्य वस्तुहरुलाई खाल्डो खनेर पुरिएको छ । नगरपालिकाले केही दिनदेखि नियमित रुपमा अनुगमन जारी राखेको छ ।