• ३० वैशाख २०८२, मङ्गलबार

लम्पी स्किन : खोपका कारण २४ हजार पशु सङ्क्रमणमुक्त

blog

लक्ष्मण पौडेल
भैरहवा, साउन ११ गते । 
लम्पी स्किनविरुद्धको खोपका कारण लुम्बिनी प्रदेशमा झण्डै २४ हजार पशु सङ्क्रमणमुक्त भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रूपमा पालिएका गाईंभैंसीमा लम्पी स्किन तीव्ररुपमा  फैलिन थालेपछि खोपको प्रबन्ध गरिएको थियो । जसका कारण २३ हजार ९२७ पशुचौपाया निको भएका छन् ।

समयमै खोप नपाउँदा किसानले पालेका धेरै चौपाया मरिसकेका छन् । जसले गर्दा किसानको ठुलो क्षति भएको छ । सरकारले समयमै खोप उपलब्ध नगराउँदा ठुलो सङ्ख्या चौपाया मर्नुका साथै बिरामी समेत परेका हुन् ।

लुम्बिनीका तराईदेखि पहाडी जिल्लामा रोगले चौपाया बिरामी परेका छन् । प्रदेश सरकारका अनुसार पछिल्लो पटक खोप कार्यक्रम प्रभावकारी बनाउँदै लगिएको छ । सङ्क्रमित २३ हजार ९२७ पशु उपचारपछि निको भएका छन् ।

एक लाख १८ हजार पशु सङ्क्रमितमध्ये २३ हजार ९२७ पशु निको भएको, ८८ हजार ९८४ सक्रिय सङ्क्रमित भएको र पाँच हजार ८९ पशुको मृत्यु भएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ ।

अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्ला पठाइएको छ । खोप व्यवस्थापनको लागि पाँच करोड रुपियाँ प्रदेश सरकारसँग माग गरिएको छ ।

लुम्बिनीमा लम्पी स्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ रुपियाँको नोक्सान व्यहोरेका छन् । क्षति रोक्न प्रदेश सरकारले सबै जिल्लाका स्वस्थ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरेको जनाएको छ । अहिले प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयले साउन ४ देखि सबै जिल्लामा खोप पठाएर लगाउन थालेको निर्देशनालयका निर्देशक डा.परवेज आलमले बताउनुभयो ।

डा.आलमका अनुसार पशुको मृत्यु उपचार खर्च, दूध उत्पादनमा कमी आएको कारणले धेरैको नोक्सान भएको अनुमान छ । प्रदेशमा सबै जिल्लामा साउन ४ देखि किसानको गोठ गोठमा पुगेर खोप लगाउन सुरु गरिएको प्रदेश निर्देशनालयले जनाएको छ । यसअघि पालिकाहरू आफैले व्यवस्थापन गरेर खोप लगाएका छन् ।

अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये बर्दिया र पूर्व रुकुमबाहेक १० जिल्लामा २१ हजार ७२१ खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्लेले प्रदेश सरकारले पठाएका भ्याक्सिन पालिकामा वितरण गर्ने काम भइरहेको बताउनुभयो ।