• ४ पुस २०८१, बिहिबार

बाँकेमा अवैध आयात र तस्करी बढ्यो

blog

सीमापारिबाट भित्र्याएर कोहलपुर पुर्‍याइएका अवैध चल्ला । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन ११ गते । पछिल्लो केही समययता आएर बाँकेमा सीमापारिबाट हुने तस्करी हवात्तै बढेको छ । प्रहरीले मुख्य नाकामा अत्याधिक कडाइ गरे पनि भारतबाट अवैध रुपमा मालसामान भित्रिने क्रम झन् बढेको हो । 

नेपाल भारत नाकाबाट लाखौंका मालसामान राजस्व छलेर नेपाल सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा राजस्व छलेर नेपाल भित्रिएका सामान बरामद गर्न थालेपछि तस्करी निकै बढेको पुष्टि भएको छ । 

भारतबाट राजस्व छलेर अवैध रुपमा नेपाल भित्रिएका ४२ लाखको मोबाइल पार्टस् र एक हजार बढी प्रतिबन्धित चल्लालाई सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट एकै दिन नियन्त्रणमा लिएपछि तस्करी ठुलो परिमाणमा भइरहेको पाइएको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेका प्रमुख एसपी रमेश विक्रम शाहीले नाकामा निकै कडाइ गरिए पनि कसरी यति धेरै सामान कोहलपुरसम्म पुग्छ सो बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले प्रहरीको सक्रियता बढेकै कारण धेरै सामान बरामद गर्न सफल भएको जनाउँदै तस्करी नियन्त्रण गर्न अझै बढी सक्रियता बढाइने बताउनुभयो । 

साउन १ गतेबाट भारतबाट ल्याइने सय रुपियाँभन्दा बढीको सामानमा भन्सार राजस्व लिन थालिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले सो नियम राम्रो भएकोले कडाइका साथ लागु गर्नुपर्ने माग गर्दै तस्करी र अवैध आयात पनि कडाइका साथ रोक्नुपर्ने बताउनुभयो । उहाँले सीमापारिबाट हुने तस्करीले गर्दा नेपालगञ्जको व्यापार व्यवसाय प्रभावित हुने जनाउँदै तस्करी नियन्त्रण आवश्यक रहेको बताउनुभयो ।