• १४ मंसिर २०८१, शुक्रबार

पहिरोको जोखिममा विद्यालय

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), साउन ११ गते। म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङको बुलमा रहेको वागेश्वरी आधारभूत विद्यालय पहिरोको जोखिममा परेको छ । 

विद्यालयदेखि तलको जमिनमा पहिरोका कारण चिराचिरा भएसँगै कक्षाकोठा पहिरोको जोखिममा परेको हो । पहिरोले कक्षाकोठाको भवन जोखिममा परेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा ४५ जना विद्यार्थी अध्ययनरत छन् । 

वडाध्यक्ष राजाराम सुवेदीले भन्नुभयो, “विद्यालय भवनदेखि तल पहिरो खसेका कारण कक्षाकोठा भत्किने जोखिम बढेको छ । भवन नै भत्किने जोखिम बढेकाले कक्षा ४ का विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाउने व्यवस्था मिलाएका छौँ ।” पहिरोले दुईकोठे शौचालय भवनको पर्खाल चिरा परेर प्रयोग गर्न नमिल्ने भएको उहाँले बताउनुभयो । 

वडाध्यक्ष सुवेदीले मङ्गलबार गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र प्राविधिकको टोली विद्यालयमा पुगेर पहिरो रोकथामका लागि छलफल भएको बताउनुभयो । उहाँले तत्काल थप क्षति र पठनपाठन प्रभावित हुन नदिने र पहिरो रोकथामका लागि ग्याबिन जाली लगाउने बताउनुभयो ।