• १७ असार २०८१, सोमबार

माथिल्लो तामाकोसीको हकप्रद शेयर निष्कासन गर्ने तयारी

blog

बाबुराम शर्मा 

दोलखा, साउन ११ गते । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । 

आयोजनाले दोलखामा स्थानीय सरोकारवालाहरूसँग छलफल गरेको छ । कम्पनीले  साउन २५ गते बुक क्लोज गर्ने  तथा भाद्र महिनाको पहिलो साता साधारण सभा सम्पन्न गरी त्यसपछि शेयर निष्कासन प्रक्रिया सुरु गर्ने आयाेजनाका कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो । 

आयोजनाले हकप्रद शेयर निष्कासन गर्न लाग्दा समेत अझै धेरै दोलखाबासीले भने आफूले पाएको स्थानीय शेयर अभौतिकीकरण नगरेका कारण समस्या हुने देखिएको छ । डिम्याट खाता खोली शेयर अभौतीकीकरण नगरेका शेयर धनीहरूले हकप्रद शेयरमा आवेदन गर्न पाउने व्यवस्था छैन । 

दुई लाख ७६ हजार दोलखालीले स्थानीय शेयर प्राप्त गरेकोमा करिब ८४ हजारको डिम्याट खाता छ । अझै करिब एक लाख ९२ हजार जनाको शेयर अभौतीकीकरण हुन बाँकी रहेको देखिएको छ ।  

जिल्लामा डिम्याट खाता खोल्न विभिन्न बैङ्कहरूले समय समयमा अभियान चलाए पनि डिम्याट खाता खोल्ने तर तामाकोसी शेयर अभौतिकीकरण गर्न खासै चासो नदिएका कारण ठुलो सङ्ख्यामा दोलखालीहरु शेयर भर्नबाट वञ्चित हुने सम्भावना बढेको दोलखाका स्थानीयहरूको चिन्ता छ । 

शेयर अभौतिकीकरण गर्न सनराइज क्यापिटलले दोलखामा नै काउन्टर खोलेर सेवा दिनुपर्ने स्थानीयहरूको माग छ । जिल्लामा रहेका बैङ्कहरू तथा ब्रोकरहरूले पनि डिम्याट खाता खोल्न अभियान नै चलाउनुपर्ने स्थानीयले जोडदार माग राखेका छन् ।