• १२ असोज २०८१, शनिबार

पहिरो पीडितका लागि टहरा निर्माण

blog

मैवाखोला गाउँपालिकाको साँघुमा अस्थायी टहरा निर्माण गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोपीडित परिवारका लागि अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको छ । गत असार पहिलो साता भीषण वर्षासँगै गएको पहिरोका कारण पीडित तथा प्रभावित बनेका परिवारलाई स्थानान्तरण गर्न अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको हो । 

पहिरोका कारण मैवाखोला गाउँपालिका –४ साँघु ओदक बस्ती नै उच्च जोखिममा परेको छ । ओदक टोलका पहिरो प्रभावित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वडा ३ साँघुकै निर्माणाधीन मदन भण्डारी रङ्गशालाको जग्गामा टहरा बनाउन सुरु गरिएको हो । 

टहरा निर्माण गरी अस्थायी एकीकृत बस्तीकै रूपमा पहिरो प्रभावितलाई पुनर्स्थापना गर्ने योजनाका साथ काम सुरु गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

अध्यक्ष वनेमका अनुसार श्रमदान मार्फत अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको हो । वनेमले श्रमदान मार्फत टहरा निर्माणको काम सुरु गरिएकाले श्रम शिविरमा सहयोग गर्नका लागि सबैसँग आह्वानसमेत गर्नुभयो । ओदक टोलका ६१ परिवारसमेत पहिरो प्रभावित ६४ परिवारलाई स्थानान्तरण गर्न ६४ वटा अस्थायी टहरा निर्माण गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।