बिन्दु थापा
पाल्पा, साउन १० गते । पाल्पा जिल्ला अस्पतालमै उपचार गर्ने जिल्लाभित्रका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ । पाल्पाको तानसेनमा रहेको पाल्पा जिल्ला अस्पतालमा भर्ना भइ उपचार गरी डिस्चार्ज भएका बिरामीलाई घर जानको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
पाल्पा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले जिल्लाको एक मात्र अस्पतालमा भर्ना भई निको भइसकेर घर फर्कने सेवाग्राहीलाई यो सुविधाले लाभ पुग्ने बताउनुभयो । अध्यक्ष आत्रेयले भन्नुभयो, “पछिल्लो समयमा पाल्पा अस्पतालले विभिन्न सेवा थपेर सेवाग्राहीलाई सुविधा दिन लागेका छौं, यो पनि बिरामी निको भइसकेर सेवाग्राहीलाई घर जान राहत मिलोस् भनेर यो सेवा सुरु गरेका छौं ।”
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक भण्डारीले पाल्पा अस्पतालमा सेवा लिन दैनिक तीन सय ५० देखि चार सय जना आउने भए पनि अस्पतालमै भर्ना भएर औषधि उपचार गर्ने सङ्ख्या न्यून रहेको जानकारी दिनुभयो । भण्डारीले पछिल्लो समयमा पाल्पा अस्पतालबाट डेन्टल, आँखा जाँच पनि सुरु गरेको बताउनुभयो । जसको सेवा लिन दैनिक ३० देखि ४० जना आउने गरेको अस्पतालमा तथ्याङ्क छ ।
भण्डारीले भन्नुभयो, “पहिला डक्टरले लेखिदिएका धेरैजसो औषधि बाहिरै किन्नुपर्ने भएपछि सेवाग्राहीले गुनासो गरेका थिए, अहिले ९५ प्रतिशत औषधि यहीँ पाइने गर्दछ जसले सेवाग्राही पनि खुशी भएको अनुभव गरेको छु ।”