• २० असोज २०८१, आइतबार

उराउ जनजाति सङ्ग्रहालय निर्माण

blog

इनरुवा समाचारदाता 

इनरुवा, साउन १० गते । इनरुवा नगरपालिकामा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रूपमा पुराना कला संस्कृतिको संरक्षण गर्न नेपाल उराउ आदिवासी जनजाति प्रतिष्ठानले उराउ जनजाति सङ्ग्रहालय निर्माण गरेको छ। 

इनरुवा नपा–२ को लक्ष्मीनारायण मन्दिर नजिकै संस्कृति पहिचान झल्किने उराउको जातीय पहिचानसहितको कला, कौशल र पहिरन, खेतमा काम गर्दाको बखत प्रयोग भएको सामग्री राख्ने गरी सङ्ग्रहालय निर्माण गरिएको हो। 

तराई मधेशका आदिवासी जनजाति समुदायमा पर्ने उराउ जातिको पहिचानका रूपमा तत्कालीन संसद् विकास कोष सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय प्रतिष्ठानको सहयोगमा सङ्ग्रहालय निर्माण गरिएको हो।

चार वर्षमा निर्माण गरिएको सङ्ग्रहालय कुल एक करोड २० लाख रुपियाँ लागेको प्रतिष्ठानका अध्यक्ष बेचन उराउले जानकारी दिनुभयो। सङ्ग्रहालय निर्माणका लागि तत्कालीन सुनसरी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं पूर्वराज्यमन्त्री सीताराम मेहताको संसद् विकास कोषको ५० लाख रुपियाँ, प्रदेश सभा सदस्य राजीव कोइराला र इनरुवा नगरपालिकाबाट ४८ लाख ११ हजार ६९१ रुपियाँ आर्थिक सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो।

उराउ समुदायलाई लक्षित गरेर पूर्वजहरूले बनाएका वस्तु, पहिरन, कला संस्कृति झल्किने सामग्रीहरू, बाजाहरू सङ्ग्रहालयमा राखिने छ। उराउ समुदायबाट उच्च तहमा पुगेका वा प्रख्यात एवं विशेष योगदान गर्ने व्यक्तिहरूको इतिहास राखिने प्रतिष्ठानले जनाएको छ।