• १२ असोज २०८१, शनिबार

साफ यू–१९ फुटबलको प्रशिक्षकमा सुनिल

blog

सुनिल श्रेष्ठलाई प्रशिक्षकको जिम्मेवारी प्रदान गरिँदै । तस्बिर : एन्फा

काठमाडौं, साउन ९ गते । सेप्टेम्बर २१ देखि ३० तारिखसम्म दशरथ रङ्गशालामा आयोजना हुने साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुनिल श्रेष्ठले पाउनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सुनिललाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । सुनिलले यसअघिपनि उमेर समूहको प्रशिक्षण गराउँदै आउनुभएको थियो । 

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले नेपालमा आयोजना हुने यू–१९ साफको समूह विभाजन र खेल तालिका सार्वजनिक गरिसकेको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान र माल्दिभ्स रहेको छ ।

नेपालले समूहको पहिलो खेल सेप्टेम्बर २१ तारिख पाकिस्तान र दोस्रो खेल २५ तारिख  मालदिभ्ससँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र भुटान रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । च्याम्पियनसिपको यो पाँचौँ संस्करण हो । नेपालले यसअघि दुई संस्करणको उपाधि जितेको थियो ।