• १२ मंसिर २०८१, बुधबार

बाँकेमा डेंगुका बिरामी भेटिन थाले

blog

डेंगुको उपचारका लागि सबै व्यवस्था मिलाइएको भेरी अस्पताल। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन ९ गते। बाँकेमा पछिल्लो समयमा आएर डेंगुका बिरामी भेटिन थालेका छन्। चिकित्सकका अनुसार केही दिनयता अस्पताल र क्लिनिकमा डेंगुका बिरामी उपचारका लागि आउनेक्रम सुरु भएको छ।

भेरी अस्पतालको मेडिसिन विभागका प्रमुख तथा वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले हालसम्म चार जना डेंगुका बिरामी उपचारका लागि आफ्नो क्लिनिक र अस्पतालमा आएको जनाउँदै बढ्नेक्रम जारी रहेको बताउनुभयो।

उहाँले भर्खरै वर्षा सुरु भएकोले अब सो रोगको प्रकोप झन् तीव्र गतिमा बढ्न सक्ने आशङ्का रहेकोले सतर्कता अपनाउनु आवश्यक रहेको बताउनुभयो। भेरी अस्पतालमा उपचारका लागि सबै व्यवस्था मिलाइएकोले कसैलाई पनि ज्वरो आउन साथ मलेरिया र डेंगु अनिवार्य परीक्षण गराउन भेरी अस्पतालले आग्रह गरेको छ।

अस्पतालका प्रमुख डा. बद्री चापागाईँले डेंगुका बिरामी फाटफुट देखिन थालेको र क्रमशः बढ्दै जाने आशङ्का रहेकोले उपचारका लागि सबै व्यवस्था मिलाइएको बताउनुभयो।

नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखा र स्वास्थ्य कार्यालय बाँकेले डेंगु विरुद्ध सचेतना अभियान सञ्चालन गरेर सर्वसाधारणलाई सचेत र सतर्क पार्ने कार्य भइरहेको जनाएका छन्।

नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले डेंगु रोगका बिरामी भेटिन थालेपछि सीमा नाकामा विशेष सतर्कता बढाइएको जानकारी दिनुभयो।