काठमाडौं, साउन ९ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै कांग्रेस निधीले यस्तो बताउनुभएको हो ।
नेता निधीले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको जिकिर गर्नुभयो । उहाँले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताउनुभयो । उहाँले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको भनाइ व्यक्त गर्नुभयो ।
नेता निधीले कांग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताउनुभयो ।
‘‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैन, भर्सेस केही पनि छैन । पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली कांग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन् । संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य हो ।,’’ नेता निधीले भन्नुभयो, ‘‘किसान, मजदुर, दलित, महिलाको पक्षमा काम गर्ने हो । केन्द्रीय समितिमा सबैले छलफल गर्नुभएको छ, एकताबद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने छ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्, देशमा अरू त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन्, लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै छ ।’’
नेता निधीले एकताबद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेकुरामा कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल भएको बताउनुभयो ।