काठमाडौं, साउन ९ गते । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वसभामुख रानाभाटले नेपाली कांग्रेस अहिलेसम्मका मुलुकका परिवर्तनहरूको संवाहक भएकाले कांग्रेसले नै जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गर्ने भूमिकाबाट कांग्रेस पछि हट्न नहुने औँल्याउनुभयो ।
पूर्वसभामुख रानाभाटले भन्नुभयो, ‘‘हामी जहिलेदेखि नै हामी जुनसुकै परिवर्तनको संवाहक नेपाली कांग्रेस हो । मुलुकको आर्थिक, सामाजिक परिवर्तन गराउने अगुवा नेपाली कांग्रेस हो । राष्ट्रिय एकता कायम गर्ने त्यसको प्रणेता पनि नेपाली कांग्रेस हो, त्यो भूमिकाबाट पछि हट्दैनौँ । राष्ट्रिय एकताका लागि सबै मिल्नुपर्छ । विचारधारा, झण्डा, नाराको झगडा चुनावमा हो, चुनावपछि सबै मिलेर देश विकास गर्नुपर्छ भन्ने चेत राजनीतिक पार्टीमा आएन ।’’
पूर्वसभामुख रानाभाटले पार्टीका विचारधारा, झण्डा र नारा चुनावमा सीमित गरी देश विकासका लागि पार्टीहरू एकजुट हुन जरुरी रहेको बताउनुभयो ।