• १२ मंसिर २०८१, बुधबार

भेरी अस्पतालमा आयो एमआरआई मेसिन

blog

भेरी अस्पताल परिसरमा आइपुगेको नयाँ एमआरआई मेसिन । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, साउन ९ गते ।
पश्चिम नेपालको विशिष्टीकृत अस्पतालका रुपमा विकसित भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ । तीन वर्षदेखिको पहल, प्रयास सार्थक हुँदै सोमबार राति उक्त मेसिन भेरी अस्पतालमा आइपुगेको हो ।

विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रिटि एमआरआइ मेसिन नेपालगञ्ज आइपुगेको जानकारी दिनुहुँदै भेरी अस्पतालले त्यसका लागि आवश्यक अन्य सामान आइपुगेको जनाएको छ ।

“भेरीलाई विशिष्टिकृत गर्दै जाने क्रममा आइपुगेको एमआरआई मेसिन ठूलो उपलब्धीिहो ।,” अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले भन्नुभयो ।

तीन वर्ष अघि डा. प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा भेरी अस्पतालमा सेवाको विशिष्टीकृत प्रयासलाई तीव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा. थापा नेतृत्वले एमआरआइका लागि गरेको पहल र प्रयासले सार्थकता पाएको हो ।

प्रमुख मेसु डा. चापागाईले भन्नुभयो, “भेरीमा सुविधासम्पन्न एमआरआइ मेसिनको उपलब्धता सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्त्वपूर्ण अपलब्धि हो ।”

उहाँले यथासक्य स्रोत र साधनबाट मेसिनलाई सञ्चालन गरी आम जनताको स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने बताउनुभयो ।

अस्पतालमा न्यूरोसर्जरी, आर्थोस्कोपीलगायत विभिन्न विशिष्टिकृत सेवा सुरु भइसकेको परिप्रेक्ष्यमा यो सेवाको उपलब्धता बिरामीको रोग निदान तथा उपचारमा कोशेढुङ्गा सावित हुने मेसु चापागाईले बताउनुभयो । मेसिन जडान गरी सेवा सुरु गर्न अझै केही हप्ता लाग्ने अस्पतालले जनाएको छ ।