• ३० वैशाख २०८२, मङ्गलबार

सवारी दुर्घटनामा पाल्पामा एक वर्षमा ३९ जनाको मृत्यु

blog

इमान सिं राना

रामपुर (पाल्पा) साउन ९ गते । पाल्पामा सवारी दुर्घटनाबाट गत आर्थिक वर्षमा ३९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको तथ्याङ्क अनुसार ६२ सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७८-०७९ को तुलनामा गत वर्ष सवारी दुर्घटना कम भएपनि मृत्युुको सङ्ख्या भने बढ्दो देखिएको छ । आर्थिक वर्ष २०७८-०७९ मा ६५ सवारी दुर्घटनामा २५ जनाको ज्यान गएको थियो । आर्थिक २०७६-०७७ मा ५१ सवारी दुर्घटनामा २३ र आर्थिक वर्ष २०७७-०७८ मा ७५ सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाएको थियो । चार वर्षको अवधिमा जिल्लामा सवारी दुर्घटना बाट एक सय ९ जनाको ज्यान गैसकेको छ । 

दुर्घटना हुनुमा चालकको लापरवाही, जीर्ण सडक, बढ्दो सवारी चाप, तीव्र गति, सवारी साधनको अवस्था, मादक पदार्थ सेवन (मापसे) प्रमुख कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक दामोदर मल्लले बताउनुभयो । “अधिकांश दुर्घटना चालकको लापरवाही देखिएको छ । सडकमा सवारी चाप बढ्दै गएको छ तर सडकको मर्मत सम्भारका काम भने प्रभावकारी रुपमा हुन सकेको छैन । सवारी साधनको अवस्था समय मै जाँच नहुँदा सवारी दुर्घटना निम्त्याइरहेको छ,” उहाँले भन्नुभयो । 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण र यातायात तथा ट्राफिक नियमको पालनाको लागि सचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालय, कलेज, समुदाय र सवारी चालकहरुका लागि तीन सय ७५ वटा सचेतना कार्यक्रमसँगै सवारीको अवस्था जाँच कार्यक्रम पनि सम्पन्न गरेको उहाँले बताउनुभयो । 

सवारी कारबाहीबाट एक कराेड ३३ लाख राजस्व सङ्कलन

गत आर्थिक वर्ष २०७९-८० मा सवारी कारबाहीबाट पाल्पामा एक करोड ३३ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार ८५ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

गत वर्षको राजस्व आर्थिक वर्ष २०७८-०७९ को तुलनामा २० लाखले बढी हो । आर्थिक वर्ष २०७८÷०७९ मा जसमा १८ हजार ४६ सवारी कारवाहीमा परेका थिए । जसबाट एक करोड १३ लाख ७१ हजार ५ सय राजस्व सङ्कलन भएको थियो ।