• १३ मंसिर २०८१, बिहिबार

खानेपानीले ल्यायो खुसी

blog

राधाकृष्ण डुम्रे

वालिङ, साउन ९ गते । स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ६ को जालिमडाँडाका जितबहादुर राना खानेपानीको समस्याका कारण बसाइँ सर्ने सोचमा हुनुहुन्थ्यो। अब भने गाउँमा नै खानेपानी सहज भएपछि बसाइँ सरेर नजाने रानाले बताउनुभयो। 

जलिमडाँडाका धेरै परिवार बसाइँ सरेर सुगम ठाउँमा गइसकेका छन्। उनीहरूले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए जसका कारण गाउँबाट विस्थापित हुनेको सङ्ख्या बढ्दो थियो। गाउँका घर खाली हुँदै जानुको प्रमुख कारण खानेपानी नै भएको रानाले बताउनुभयो। 

गाउँमा वर्षौंपहिले १६ किलोमिटर टाढा छिमेकी हरिनास गाउँपालिकाको सिमानामा पर्ने तर्केनीबाट पानी ल्याइएको थियो। पानी सधैँ गाउँसम्म आइपुग्थेन जसका कारण निकै समस्या थियो। स्थानीय गीता रानाले भन्नुभयो, “हामीले दैनिक पाँच परिवारको पालो बाँडेर पानी बनाउने गथ्र्याैं अब यो समस्या समाधान भएको छ।” उहाँ पनि गाउँमा खानेपानीको अभाव हुँदा धेरै दिन पानीको जोहोमै जाने गरेको अनुभव सुनाउनुहुन्छ। उहाँ मात्रै होइन गाउँका सबै परिवार अब त खानेपानी सहज हुने भयो भनेर हर्षित भएका छन्। 

जालिमडाँडामा लिफ्टिङ प्रविधिमार्फत खानेपानी ल्याइएको हो। खानेपानीका अध्यक्ष सूर्य ‘बड्डाँडा–पाङ्लुङ लिफ्टिङ खानेपानी आयोजना’ मार्फत अहिलेसम्म जालिम डाँडासहित ८१ परिवारलाई खानेपानी पुराइसकेको पाठकले जानकारी दिनुभयो। जालिमडाँडामा अब दुई किलोमिटर तलबाट लिफ्टिङ गरी खानेपानी लगिएको छ। योभन्दा अगाडि १६ किलोमिटर टाढाबाट पानी ल्याउने गरिएको पाठकले बताउनुभयो। 

चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाण (ईश्वर) ले पहिलो चरणमा दुई करोड ५० लाख रुपियाँको लागतमा खानेपानीका धारा घर घरमा पु-याइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “क्रमागत योजना अनुसार हामीले वडा नं. ६ का दुई सयभन्दा धेरै परिवारलाई खानेपानी पु-याउने छौँ।” पालिकाका अन्य वडामा पनि खानेपानीको काम भइरहेको भन्दै नगरप्रमुख खाणले खानेपानीकै अभावमा बसाइँ सर्नु नपर्ने बताउनुभयो। 

गण्डकी प्रदेशका पूर्वसांसद भागवतप्रकाश मल्लले गाउँमा खानेपानीको समस्या देखेर आफूले सक्रियता देखाएको बताउनुभयो। खानेपानीको शुभारम्भ गर्न गाउँमा पुग्नुभएका मल्लले भन्नुभयो, “खानेपानीको अभावका कारण गाउँका मानिसको पीडा देख्दा मेरो आँशु नै आएको थियो, अब भने गाउँमा खुसी छाउने छ।” खानेपानीबाट कोही पनि वञ्चित हुन नहुने भन्दै क्रमैसँग ‘एक घर एक धारा’ को अवधारणा अनुरूप सबै घरमा पानीको सुविधा पु-याउने मल्लको भनाइ छ। चापाकोट नगरपालिकाका केही वडा समथर भूभागमा रहेको भए पनि धेरै वडा विकट गाउँमा पर्दछन्।