• १२ असोज २०८१, शनिबार

एएफसी कप क्वालिफायर्स : मच्छिन्द्रको तयारी सुरु

blog

एएफसी कप क्वालिफायर्सबारे जानकारी दिँदै मच्छिन्द्रका पदाधिकारी ।

काठमाडौं, साउन ८ गते । शहीद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी सुरु गरेको छ ।

मच्छिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलमा भुटानको लिग च्याम्पियन पारो एएफसीसँग खेल्दैछ । उक्त खेल दशरथ रङ्गशालामा साउन २३ गते हुनेछ । 

सोही खेलका लागि मच्छिन्द्र फुटबल क्लबले तयारी थालेको हो । सोमबार दशरथ रङ्गशालामा एक कार्यक्रम आयोजना गर्दै क्लबले उक्त छनोट खेलका लागि अभ्यास सुरु गरेको जनाएको छ । क्लबका अध्यक्ष सुनिल कपालीले ललितपुरस्थित चर्च ब्वाइजको खेल मैदान र एन्फा कम्प्लेक्सको मैदानमा खेलाडीले अभ्यास थालेको जानकारी दिनुभयो ।

मच्छिन्द्रको छनोट खेलमा २३ खेलाडी समावेश छन् । यीमध्ये नौ जना गत लिगमा विभिन्न क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ । 

खेलाडीलाई एएफसी कप क्वालिफायर्सको यात्रा जारी रहँदासम्म अनुबन्धित गरिएको क्लबका महासचिव अनिल श्रेष्ठ बताउनुभयो । गत वर्ष डेब्यु सिजनमा नै चर्च ब्वाइज क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । यद्यपि, एएफसी क्लब लाइसेन्स नभएका कारण दोस्रो स्थानमा रहेको मच्छिन्द्रले एएफसी कप क्वालिफायर्स खेल्न पाएको हो ।

मच्छिन्द्रले गत सिजन पनि एएफसी कप क्वालिफायर्सकको प्रारम्भिक चरणको खेल खेलेको थियो । घरेलु मैदानमा भएको उक्त खेलमा श्रीलङ्काको ब्लु स्टारसँग २–० ले पराजित भएपछि मच्छिन्द्रको यात्रा अगाडि बढ्न सकेन ।

यसपटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ । तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बू, सनिष श्रेष्ठ र आयुष घलान हुन् । यो खेल जितेमा मच्छिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।

मच्छिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बङ्गलादेशको ढाका हानाहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । मच्छिन्द्रले क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका किशोर केसीलाई नै प्रशिक्षणमा निरन्तरता दिएको जनाएको छ । तत्कालीन प्रशिक्षक प्रवेश कटुवालले राष्ट्रिय टोलीमा जिम्मेवारी पाएपछि केसी मच्छिन्द्रको प्रशिक्षणमा भित्रिएका थिए ।