रेखीराम राना
पाल्पा, साउन ८ गते । जिल्ला सदरमुकाम तानसेनका औषधि पसल मापदण्ड पुरा नगरी सञ्चालन भएको पाइएको छ । तानसेनमा सञ्चालित औषधि पसलहरूले पुरा गर्नुपर्ने मापदण्ड पुरा नगरी सञ्चालन गरेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको अनुगमनमा केही पसलले म्याद गुज्रेका औषधि विक्री गरेको पाइएको छ । सोमबार बिस वटा औषधि पसलहरूमा गरिएको अनुगमनमा दुई वटा पसलले म्याद गुज्रेका औषधि विक्री गरेको पाइएको प्रशासनले जनाएको छ ।
यस्तै, औषधि पसलले दर्ता नगरी प्रयोगशाला समेत सञ्चालन गरेका छन् । आवश्यक मापदण्ड पुरा गरेर मात्र प्रयोगशाला सञ्चालन गर्नुपर्नेमा औषधि पसलहरूले दर्ता नगरी प्रयोगशाला सञ्चालन गरेको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञेश्वर पन्थीले जानकारी दिनुभयो । दर्ता नभई सञ्चालन गरेका प्रयोगशाला तत्काल बन्द गर्न निर्देशन गरिएको उहाँले बताउनुभयो ।
केही अकुपञ्चर क्लिनिकको समेत समस्या रहेको उहाँले बताउनुभयो । अकुपञ्चर सेवा दिइएको पाइएपनि दर्ता र नवीकरणबारे ती पसलले अनभिज्ञता प्रकट गरेको उहाँले बताउनुभयो । केही औषधि पसलले चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्न सकिने औषधि रेकर्ड नराखी विक्री गरेको पाइएको छ । औषधिको प्रिस्किप्सन लेखेर मात्र औषधि दिनुपर्नेमा रेकर्ड नराखेको भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमन गरिएकामध्ये केही औषधि पसलले प्रिस्किप्सन लेखेर मात्र औषधि दिनुपर्ने हो, त्यस्तो नगरेको भेटिएकाले तत्काल सुधार गर्न भनेका छौँ ।”