अमरराज नहर्की
तनहुँ, साउन ८ गते । पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिम तथा पूर्विखण्डको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सोमबार तनहुँको कोत्रेदेखि मुग्लिङसम्मको सडकको स्थलगत अनुगमन गर्दै सांसद भण्डारीले बहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै कार्ययोजना अनुसार छिटो र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको हो । तोकिएको कार्य निर्धारित समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै काम गर्दा केही नीतिगत र कानुनी रूपमा समस्या छन् भने त्यसको समाधानका लागि सरकार समक्ष पुर्याएर समाधान गर्न तयार रहेको सांसद भण्डारीले बताउनुभयो ।
काममा असहजता भए नेपाल सरकार र सम्बन्धित सरकारी निकायमा आफूले सहजीकरण गरिदिने तर निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र जनताको गुनासो अन्त्य हुनुपर्ने भण्डारीले बताउनुभयो । सांसद भण्डारीले भन्नुभयो, ‘‘सडक अनुगमनको क्रममा काम सन्तोष जनक देखिएन ।’’ जनतालाई, यात्रुलाई सास्ती भोग्नु परेकोले गम्भीर भएर काम द्रुत रूपमा गर्नु जरुरी देखिएको सांसद भण्डारीको भनाइ थियो ।
सडक विस्तार आयोजनाका पश्चिम खण्डका अमृतकुमार श्रेष्ठ, पूर्व खण्डका नरेन्द्र सुवेदी ठेकेदार चिनियाँ कम्पनीका कनट्र्याक्ट मेनेजर युली, प्रोजेक्ट म्यानेजर ज्याकी र विजनेस म्यानेजर जिया हाओ, इन्जिनियर युवासँग कुरा गर्दै काममा भएको ढिलाइबारे सांसद भण्डारीले चासो राख्नुभएको थियो । सांसद भण्डारीले सडकको काम सुस्त हुँदा धुलोले जनताले खेप्नुपरेको सास्ती, वातावरण प्रदूषण लगायतमा ध्यान दिन निर्देशन दिनुभएको थियो ।
निरीक्षणको क्रममा सांसद भण्डारीले स्थानीय जनताको गुनासो सुन्दै स्थानीय जनताले राष्ट्रिय गौरवको आयोजना भएकोले कुनै विरोध नगरेको तर समयमा काम नहुँदा धुलोले गर्दा व्यापारबाट विस्थापित हुनु परेको, खानेपानीको पाइपमा क्षति पुगेकोमा क्षतिपूर्ति दिनमा ढिलाइ गरेको लगायतको गुनासो गरेका थिए ।
भण्डारीसँगको कुराकानीको क्रममा चिनियाँ कम्पनीका प्रतिनिधिले समयमै कार्य सम्पन्न गर्न चिनिया कम्पनीका प्रतिनिधिले स्थानीय जनताले भोग्नुपरेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । निरीक्षणको क्रममा पश्चिम खण्डका आयोजनाका प्रमुख श्रेष्ठले ८ दशमलव १५ प्रतिशत र पूर्विखण्डका सुवेदीले ३१ दशमलव ५ प्रतिशत काम पुरा भएको जानकारी दिनुभएको थियो ।
सडकको सांसद भण्डारीसँगै गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाको प्रमुख कृष्णराज पण्डित, म्याग्दे गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले स्थलगत निरीक्षण गरी कामको प्रगतिको बारेमा जानकारी लिनु भएको थियो ।
विद्युतको पोल सार्न ढिलाइ, खानेपानीको पाइप लगायतले गर्दा काममा ढिलाइ हुन पुगेको भएपनि समयमा नै काम पुरा गर्ने गरी तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।