महेन्द्रनगर, साउन ८ गते । साग प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुनुहुन्छ । उहाँहरू चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट भइसक्नुभएको छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवब चुनारा र डडेलधुराका दुबे मुलुकको प्रतिनिधित्व गर्दै एसियाली खेलअघि प्रशिक्षणका लागि भारत जाँदै हुनुहुन्छ । दुवै खेलाडीसँग सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै तौल समूहमा स्वर्णपदक जितेको इतिहास छ । साथै १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) दुबेले रजत पदक र चुनाराले कांस्य जित्नुभएको थियो ।
त्यसो त चुनारा र दुबेसँगै कुस्तीबाट साफमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी सङ्गीता धामी र साफमै पदक विजेता खेलाडी महिषा सिंह पनि यहाँकै उत्पादन हुनुहुन्छ । साथै पछिल्लो समय निकै लोकप्रिय बनेको क्रिकेटमा पनि कञ्चनपुरकै खेलाडीको योगदान ठुलो छ । राष्ट्रिय टोलीका भीम सार्की, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र प्रदीप ऐर पनि कञ्चनपुरकै उत्पादन हुनुहुन्छ ।
मुलुकलाई विभिन्न खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवालाको गुनासो छ ।
यतिबेला कुस्ती खेलाडीहरू जिल्ला खेलकुद विकास समितिको कार्यालयसँगै जोडिएको साँघुरो हलमा प्रशिक्षण गर्न बाध्य छन् । सुदूरपश्चिम प्रदेश सरकारबाट खेलकुद परिषद्ले निर्माण सुरु गरेको कुस्ती हल दुई वर्षभन्दा बढी समयदेखि अलपत्रको अवस्थामा छ भने कहिले बन्ने हो टुङ्गो छैन ।
“कुस्तीका लागि हल बनाउन थालेको तेस्रो वर्ष लाग्यो”, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो, “यसपालि पनि रु. १० लाख बजेट आएको सुनेको छु ।” उहाँका अनुसार अहिले खेलाडीहरू साँघुरो र अव्यवस्थित स्थानमा प्रशिक्षण गर्न बाध्य छन् ।
कञ्चनपुरमा कुस्तीको विकास खेल आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितापछि भएको उहाँको भनाइ छ । आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरले कुस्तीमा ११ स्वर्ण, ६ रजत र ८ कांस्य पदक जितिसकेको छ । “बिछ्याउने ठाउँ नभएर ‘म्याट कभर’ तेक्वान्दोको हलमा थन्क्याएका छौँ”, चन्दले भन्नुभयो, “अहिलेसम्म साँघुरो हलमा म्याटका भरमा प्रशिक्षण चलिरहेको छ ।”
कुस्तीसँगै पछिल्लो केही वर्षयता कञ्चनपुरले भारोत्तोलनमा समेत उत्कृष्ट प्रदर्शन मात्रै गरेको छैन पदक पनि जितेको छ । हाल चीनमा हुने एसियाली खेलकुद प्रतियोगितामा भारोत्ताेलनबाट पनि कञ्चनपुरका विकास भट्ट र नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भई बन्द प्रशिक्षणमा छन् । दुवै खेलाडी कञ्चनपुरकै उत्पादन हो ।
महिलातर्फ भने भारोत्तोलनमा त्रिभुवन आर्मी क्लबका शारदा चौधरी र नेपाल प्रहरीका टीकामाया गुरुङ एसियालीका लागि छनोटमा पर्नुभएको छ । “चारजना खेलाडी लिएर पोखरामा बन्द प्रशिक्षण भइरहेको छ ।” एसियालीका खेलकुदका लागि नेपालका भारोत्तोलन प्रशिक्षक कञ्चनपुरका जीवन गौतमले भन्नुभयो, “एसियाली खेलकुदका लागि बाह्य प्रशिक्षणका लागि पनि पहल हुँदैछ ।” तर खेल र खेलाडीप्रति सरोकारवालाको कुनै चासो नदेखिएको उहाँको गुनासो छ ।
“पदक ल्याउने भनिएको खेलका लागि न त पूर्वाधार राम्रो छ न त सामग्री नै उपलब्ध हुन्छ”, प्रशिक्षक गौतमले भन्नुभयो, “भनसुनका भरमा मात्रै सहयोग प्राप्त हुने अवस्था हाबी बन्दै गएको छ ।” यसअघि कञ्चनपुरबाट प्रतिनिधित्व गर्दै आएका भारोत्तोलन खेलाडीलाई खेल पोसाक दिन आनाकानी गरिएको उहाँले गुनासो गर्नुभयो । “जुनियर खेलाडीहरू प्रशिक्षण लागि धेरै आइरहे पनि खेलाउने हल छैन”, उहाँले भन्नुभयो, “प्रशिक्षणका लागि खेलाडीले हातमा लाउने चकको डिब्बासमेत नपाएको स्थिति छ ।”
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरमा दश खेलको प्रशिक्षण भइरहेको बताउनुभयो । कुस्ती, भारोत्तोलन, भलिबल, कबड्डीका साथै कराते,बक्सिङ, एथलेटिक्सलगायतका खेलाडी यहाँ प्रशिक्षण गरिरहेका छन् ।
“प्रदेश सरकारको सहयोगमा १४ करोड रुपियाँ लगानीमा बहुउद्देश्यीय कवर्ड हल बन्दैछ”, भट्टले भन्नुभयो, “तर बजेट र कार्यक्रम नआउँदा जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुन छाडेका छन् ।” रासस