• १५ मंसिर २०८१, शनिबार

बुढीगण्डकी जलविद्युत् निर्माण सुरु गर्न माग

blog

जलविद्युत् आयोजना चाँडै बन्नुपर्ने मागसहित छलफलमा स्थानीय । तस्बिर : मुरारी अधिकारी

मुरारी अधिकारी

धादिङ, साउन ८ गते । बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले आफ्ना जनप्रतिनिधिसँग तत्काल आयोजनाको काम सुरु गराउन पहल गर्न अनुरोध गरेका छन् । 

जलाशययुक्त १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित आरुघाट र त्यस वरपरका बासिन्दाको भेटघाटमा पुग्नुभएका प्रतिनिधिसभा सांसद रामनाथ अधिकारीसँग प्राभावित क्षेत्रका बासिन्दाले आफूहरु जतिसक्दो छिटो बुढीगण्डकी परियोजना सुरु भ  समयमा नै सम्पन्न भएको हेर्न चाहेको बताउनुभएको हो । 

स्थानीय बासिन्दा बुढीगण्डकी परियोजना सम्पन्न हुन अझै केही समय लाग्ने भएकाले प्रभावित क्षेत्रमा रोकिएका विकास निर्माणका कामलाई सुचारु गराउन आग्रह गरेका छन् । 

धादिङ आरुघाटका उमेश श्रेष्ठले बुढीगण्डकी समयमा बन्न आवश्यक रहेको बताउनुभयो । त्यो सँगै यस क्षेत्रमा रोकिएका पूर्वाधार निर्माणका कार्य तत्काल सुचारु गरिनुपर्ने उहाँको माग छ । श्रेष्ठले रोकिएका मुआब्जा वितरण र पुनर्वासको योजनालाई तत्काल अगाडि बढाउनुपर्ने बताउनुभयो । 

सोही क्षेत्रका सुजन श्रेष्ठले आरुघाट बजार ऐतिहासिक बजार रहेकाले यसको महत्व नघट्ने गरी बजारलाई अर्को स्थानमा स्थानान्तरण गर्न जरुरी रहेको बताउनुभयो । गोरखा र धादिङका बुढीगण्डकी परियोजना प्रभावित क्षेत्रका बासिन्दाहरु अधिकांशले पुनर्स्थापनाको कार्यक्रममा जोड दिएका छन् । 

जग्गाको मुआब्जा पाए पनि वासस्थानको ग्यारेन्टी नभएको प्रभावित बासिन्दाको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिउरिनीटारमा बुढीगण्डकी जलविद्युत् आयोजना कम्पनी लिमिटेडको फिल्ड कार्यालयको उद्घाटन गरेपछि अब बन्छ कि भन्नेमा जनता उत्साहित भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो । 

जनताको गुनासो सुनेपछि सांसद रामनाथ अधिकारीले प्रभावित क्षेत्रको सबै नागरिकको समस्या समाधान गर्दै जलविद्युत् आयोजना तत्काल निर्माण सुरु गर्न सरकारलाई दबाब दिने प्रतिबद्धता जनाउनुभयो । अधिकारीले त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित पुरानो व्यापारिक केन्द्र आरुघाट, धार्मिक मठ मन्दिरका संरक्षण र त्यसको महत्वमा कमी नआउने गरी स्थानान्तरण गर्ने विषयमा आवाज उठाउने बताउनुभयो ।