• १२ मंसिर २०८१, बुधबार

स्टाफ नर्सको नेतृत्वमा जिल्ला अस्पताल

blog

बिरामीहरु लामबद्ध रहेको जिल्ला अस्पताल । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, साउन ८ गते । पुतलीबजार नगरपालिका –३ कुमालगाउँमा रहेको जिल्ला अस्पताल नौ महिनादेखि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विहीन बनेको छ । गत कात्तिक १५ गते मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको लमजुङ सरुवा भएसँगै अस्पतालका वरिष्ठ स्टाफ नर्स कृष्ण कार्कीको नेतृत्वमा चल्दैआएको छ ।  

नवौ तहको अस्पताल प्रमुख र दुई मेडिकल अफिसरसहित २५ जनाको स्थायी दरबन्दी रहेको अस्पताल २५ शैया छ । मेसुको सरुवा र मेडिकल अफिसर एमडी अध्ययन गर्न धरान र वीर अस्पताल गएसँगै कार्कीको नेतृत्वमा अस्पताल पुगेको हो । 

यहाँ १० जना करारका डाक्टर र थप ४३ करारका कर्मचारी रहे पनि कार्कीले नेतृत्व गर्नुभएको छ । अस्पताल विकास समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले वर्ष दिन पुग्न लाग्दासम्म अस्पतालले प्रमुख नपठाउँदा यहाँबाट उपलब्ध सेवा सुविधा र अस्पताल व्यवस्थापनमा नराम्ररी असर पुगेको बताउनुभयो ।

यहाँ अहिले प्रदेश अन्तर्गतका १६ जना करारमा सेवारत कर्मचारीको म्याद सकिएको छ । अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराउँदैआएको छ । एमजीडीपी, बहिरङ्ग, शल्यक्रिया, मिर्गौला डायलासिस, मातृशिशु तथा प्रसूति सेवा, आँखा, दाँत, भिडियो एक्सरे, स्वास्थ्य बीमा, अपाङ्गता सहायता कक्ष र एकद्वार सङ्कट व्यवस्थापन र चौबीसै घण्टा आकस्मिक सुविधालगायतका सेवा उपलब्ध गराउँदैआएको छ । 

आफू नर्सिङको कर्मचारी भएको बताउँदै निमित्त प्रमुख कृष्ण कार्कीले प्रशासनतर्फको निर्णय गर्दा आफूलाई समस्या भएको बताउनुभयो । कुनै समय बिरामी नै आउने अस्पतालमा पछिल्लो क्रममा सुधारसँगै अहिले दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको र बिरामी हेर्ने कि प्रशासन चलाउने समस्या भएको कार्कीको भनाइ छ ।