• १३ मंसिर २०८१, बिहिबार

जडीबुटी पहिचान र संरक्षणमा चुनौती

blog

मीना कँडेल

कावासोती, साउन ८ गते । सामुदायिक वन क्षेत्रमा पाइने जडीबुटी संरक्षण चुनौती बन्दै गएको छ । पूर्वी नवलपरासीका सामुदायिक वनहरुले जडीबुटीको पहिचान गर्न नसक्दा यसको प्रयोग गर्न सकेका छैनन् भने संरक्षणको अभावले खेर गइरहेकाे छ । नवलपुर जिल्लाकाे ५८ प्रतिशत भूभाग वनजङ्गलले ढाकेको छ । 

जिल्लामा दुई सय १० वटा सामुदायिक वन दर्ता भएका छन् । नेपालमा करिब ८५ प्रतिशत जडीबुटी जङ्गली वासस्थानबाट सङ्कलन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । गैँडाकोटका सामुदायिक वनमा हाल रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, सुठो, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी पाइने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी हरि गाैतम बताउनुहुन्छ । तर यसको संरक्षण र उपयोग भने वनहरुले गर्न सकेका छैनन् । 

सामुदायिक वनमा पाइने जडीबुटी कति प्रजातिका छन् भन्ने विषयमा अनभिज्ञ हुँदा जडीबुटीको संरक्षण हुन सकेको छैन । नारायणी सामुदायिक वनका सचिव उमा पाण्डेले आगामी दिनमा योजना बनाएर जडीबुटीको संरक्षण र यसको प्रयोगमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वनमा पाइने जडीबुटीलाई पहिचान गरी संरक्षण र प्रयोगबाट आम्दानी गर्ने लक्ष्य वनको रहेको उहाँको भनाइ छ । गैँडाकोट नगरपालिकाभित्र २२ वटा सामुदायिक वन छन् । यी वनमा कति प्रजातिका जडीबुटी पाइन्छ त्यो भने एकिन हुन सकेको छैन।”

मौलाकाली सामुदायिक वनले हालसम्म १५ प्रजातिका जडीबुटीको पहिचान गरी प्रयोग गर्दै आएको छ । हर्रो, बर्रो, अमला, कुरीलो लगायतका अन्य जडीबुटीको संरक्षण साथै प्रयोगमा पनि आएको मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो  । बहुमूल्य जडीबुटीहरू र प्रशस्त मात्रामा सुगन्धित तेलजन्य वनस्पतिहरूको सही उपयोग नभएको उहाँको भनाइ छ । कावासोतीको मनकामना सामुदायिक वनमा हर्रो, बर्रो, अमला जस्ता बिरुवा गत आर्थिक वर्षमा वनमा वृक्षरोपण गरेको वनका अध्यक्ष सालिकराम सापकोटाले बताउनुभयो ।

यता देवचुली नगरपालिकाले “वनको उत्पादनमा अभिवृद्धि, नागरिकको जीवनयापनमा समृद्धि” कार्यक्रम कार्यान्वयन गरी वन उत्पादनलाई उद्यमशीलतासँग जोड्न नगरभित्रका सामुदायिक वनसँगको सहकार्यमा वनको खाली क्षेत्रमा अमरिसो, डालेघाँस, बेसार खेती, विभिन्न प्रजातिका फलफूल तथा स्थानीय जीबुटीका बोटबिरुवा रोप्ने नीति लिइएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।