• १३ मंसिर २०८१, बिहिबार

मनाङको मुख्य आयस्रोत जडीबुटी

blog

यदुप्रसाद भट्ट 

मनाङ, साउन ८ गते । चार वटा स्थानीय तह रहेको मनाङमा आम्दानीको मुख्य स्रोतका रूपमा जडीबुटीलाई लिन सकिन्छ। यस आर्थिक वर्षमा सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको छ भने सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको छ। 

मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर, पोङ्करलगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ। चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायतका जडीबुटी पाइन्छ। नासो गाउँपालिकामा नाम्गे, भीमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङ्ला, हुलाकी ओडारलगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। 

हिमालपारिको जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट २६ लाख ४४ हजार २२९ रुपियाँ राजस्व सङ्कलन भएको छ। जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा, वन लसुन, जिम्बु, टिमुर, निगालो जस्ता जङ्गली जडीबुटी बिक्रीबाट उक्त राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय मनाङले जनाएको छ।

आव २०७९/८० यार्सागुम्बा बिक्रीबाट २५ लाख ४८ हजार दुई सय, वन लसुनबाट ४६ हजार ९९६, जिम्मु बिक्रीबाट ११ हजार ९१ रुपियाँ राजस्व सङ्कलन भएको छ। निगालोबाट तीन हजार ३५० र टिम्बर काठबाट भ्याटसहित ३४ हजार ५९२ रुपियाँ राजस्व सङ्कलन भएको प्रमुख गौतमले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “औषधीय जडीबुटी बिक्री मनाङको मुख्य आयस्रोत मानिन्छ, यसबाट यहाँको आयस्रोत वृद्धि गरेको छ।” 

गौतमका अनुसार यो आवमा यार्सागुम्बा ८२ किलो,  वन लसुन एक हजार ५६१ किलो, जिम्मु एक हजार १०९ किलो, निगालो तीन हजार ३५० पिस र टिम्बर काठ ४५८.५९ क्युफिट बिक्री गरिएको छ। 

आव २०७९/८० मा जडीबुटीको तौल कम भए पनि राजस्व भने वृद्धि भएको गौतमले बताउनुभयो।  गत वर्ष कोभिड–१९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या हुँदा राजस्वमा कमी आएको थियो। गत वर्षको तुलनामा यस वर्ष समस्या समाधान हुँदै जडीबुटी सङ्कलनमा सहज हुँदा राजस्वमा वृद्धि भएको गौतमले बताउनुभयो। सङ्कलित राजस्व सङ्घीय सरकार अन्तर्गत वित्तीय आयोगमा पठाइने छ। वित्तीय आयोगले ५० प्रतिशत सङ्घ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५/२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको छ। 

मनाङमा जडीबुटी सङ्कलनबाट हुने आम्दानी स्थानीय तह मातहत राख्न सकिएमा आन्तरिक आय वृद्धि हुने स्थानीय तहको अनुमान छ। स्थानीय तहलाई आन्तरिक रूपमै सबल बनाउने उद्देश्य अनुरूप अगाडि बढ्ने लक्ष्य पूर्ति गर्न सहयोग पुग्ने स्थानीय तहको बुझाइ छ। धेरै आयस्रोत स्थानीय सरकारमा भएको अवस्थामा पनि सङ्घ सरकारलाई पठाउनुपर्ने प्रावधानले आय कम भएको स्थानीय तहको गुनासो छ। 

ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ। ठेकेदारले कम्तीमा ३० हजारदेखि ४० हजारसम्म पुर्जी काटेर ठेक्कामा जङ्गली जडीबुटी सङ्कलन गर्छन्। करिब दुई महिना खर्कमा बसेर ज्यालादारी मजदुरले जङ्गली जडीबुटी सङ्कलन गर्ने गर्छन्।