• १२ मंसिर २०८१, बुधबार

सिर्दीबासका ७० बढी हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित

blog

सिर्दीबासका स्थानीय बासिन्दा । तस्बिर : नरेन्द्र ढकाल

नरेन्द्र ढकाल

गोरखा, साउन ७ गते । उत्तरी गोरखाको सिर्दीबासका ७० जना भन्दा बढीमा हेपाटाइटिस ‘बी’ फेला परेको छ । चुमनुब्री गाउँपालिका –३ सिद्धिबासका १ हजार ५५० जनामा गरिएको परीक्षणमा हेपाटाइटिस ‘बी’ को सङ्क्रमण उच्च भेटिएको हो । 

‘सिर्दीबासमा हेपाटाइटिस ‘बी’को समस्या धेरै छ भन्ने जानकारी आयो’ किमोलुङ फाउण्डेसन नेपालका अध्यक्ष बाङचुक रप्तेन लामाले भन्नुभयो, ‘हामीले असारमा स्क्रिनिङ गर्दा ७० जना भन्दा बढीमा सङ्क्रमण देखिएको छ ।’ 

चुमनुब्री गाउँपालिकाको प्राविधिक सहयोग तथा समन्वयमा किमोलुङ फाउन्डेसन नेपालले हेपाटाइटिस ‘बी’ को परीक्षण गरेको थियो । सङ्क्रमित धेरै देखिएपछि तत्काल सो रोगविरुद्धको खोप समेत लगाइएको छ । ‘अहिले दोस्रो डोजको खोप लगाउने काम भइरहेको छ, हालसम्म ९ सय जनाभन्दा बढीले खोप लगाइसक्नु भएको छ’ उहाँले भन्नुभयो, ‘सोमबारसम्म दोस्रो चरणको खोप लगाउने काम सकिन्छ ।’ 

यो रोगविरुद्ध तीन मात्रा खोप लगाउनुपर्ने उहाँले बताउनुभयो । सुरुमा स्क्रिनिङका लागि छुटेका ९१ जनाको पनि अहिले परीक्षण गरिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । ‘त्यहाँ सुरुदेखि नै हेपाटाइटिस ‘बी’ को समस्या रहेछ । परीक्षणपछि मात्र थाहा भयो’ चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बन्नुभयो, ‘अहिले उहाँहरूले निकै राम्रो काम गर्नुभएको छ । त्यहाँका जनतालाई धेरै राम्रो भएको छ ।’

परीक्षणपछि त्यहाँ हेपाटाइटिस ‘बी’ का बिरामीको सङ्ख्या उच्च देखिएको उपचारमा सङ्लग्न चिकित्सकले जनाएका छन् । चिकित्सकहरुका अनुसार कलेजो सुन्निने समस्या हेपाटाइटिस हो । यसका ४ प्रकार हुन्छन्, त्यसमध्ये हेपाटाइटिस बी बढी खतरनाक हुने बताइन्छ ।

हेपाटाइटिस ‘बी’ लाई सेरम हेपाटाइटिस पनि भनिन्छ । यो रोग रगत, थुक, पिसाब, वीर्यलगायतबाट एक व्यक्तिबाट अर्कोमा सर्छ । हेपाटाइटिस ‘बी’ सङ्क्रमित व्यक्तिको रगत, वीर्य र योनीबाट निस्कने तरल पदार्थमार्फत अन्यमा सर्छ । त्यस्तै, सङ्क्रमित आमाबाट जन्मिने शिशुमा समेत हेपाटाइटिस ‘बी’ हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । 

लागूपदार्थ सेवनकर्तामा सिरिन्जको प्रयोग गर्दा समेत यो रोग सर्न सक्ने चिकित्सकको भनाइ छ । यस्तै, निर्मलीकरण नगरिएका कुनै पनि सामग्रीको प्रयोगबाट रोग फैलिने सम्भावना रहन्छ । हेपाटाइटिस ‘बी’ भाइरस कोषको डिएनएमा गएर बस्ने भएकाले पूर्णरूपमा निको पार्न सकिँदैन । 

रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म औषधिको सेवन गरिरहनु पर्छ ।    बिस्तारै हेपाटाइटिस ‘बी’ ले कलेजोमा सिरोसिस, कलेजोको क्यान्सर गराउन सक्ने खतरा रहने चिकित्सकहरू बताउँछन् । हेपाटाइटिस ‘बी’ बाट बच्न त्यसविरुद्धको खोप लगाउनुपर्छ । 

पछिल्लो समय मानिसको खानपान र असुरक्षित व्यवहारका कारण विभिन्नखाले रोग फैलिरहेको छ । पिछडिएको हिमाली बस्ती सिर्दीबासमा अशिक्षाका कारणले पनि रोग फैलिएको हुन सक्ने विज्ञहरू बताउँछन् ।