• ९ मंसिर २०८१, आइतबार

साहित्यमा अर्थहीन सदर र आञ्चलिक

blog

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोशअनुसार अञ्चल भन्नाले किनार, तीर कुनै मुलुक वा प्रदेशको एक भाग, क्षेत्र, प्रदेश, घाटी, फेदी, सारी, पछ्यौरा आदिको छेउ वा किनारा, सप्को भन्ने बुझिन्छ । यसो भएपछि आञ्चलिक भन्नाले अञ्चल वा क्षेत्रसँग सम्बन्धित विषय हुने भए । सदरको अर्थ देश वा प्रदेशको केन्द्रीय स्थल, राजधानी, प्रधान, मुख्य, उचित  हो । नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ जिल्ला, राजधानीभन्दा बाहिरको स्थललाई शब्दकोशले मोफसल भनेको छ । यो नै जनसामान्यको बुझाइ पनि हो तर कानुनका किताबमा जसरी ‘विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा’ भने झैँ साहित्यमा अञ्चल, आञ्चलिकता, सदर र मोफसललाई शब्दकोशले जसरी नै बुझ्नुपर्छ भन्ने छैन । 

अञ्चलको शाब्दिक अर्थ क्षेत्र हो । यो राजनीतिक विभाजन हो । प्रशासनिक बुझाइ हो । सामाजिक भोगाइ हो । म मान्दिनँ म जन्मेको आँगन मोफसल हो मेरा लागि, यद्यपि म काठमाडौँमा बस्छु ।    

आञ्चलिकता सापेक्ष अवधारण हो । ससर्त बुझाइ हो । राजनीतिशास्त्रमा भूगोलका दृष्टिले कुनै एक सिमानाभित्रको भूभागलाई अञ्चल र त्योसँग सम्बन्धित विषयलाई आञ्चलिक भन्न सकिन्छ तर साहित्यमा राजधानीबाहिरका स्थान विशेषको भूगोल मात्र नभएर भाषा, जीवनशैली, पहिरन, मूल्य, मान्यता, विश्वास, परम्परा, व्यवहार, लोकरीति, लोकापवाद, मिथक आदिको समुच्च स्वाद, छाया, प्रतिविम्ब वा तिनका प्रदर्शनलाई आञ्चलिक भनिन्छ भन्ने आमबुझाइ छ । यिनै पक्ष समेटेर लेखिएको साहित्यलाई आञ्चलिक साहित्य भन्ने गरिएको छ तर यस्तो बुझाइ अपूरो मात्र होइन, अन्यायपूर्ण पनि छ । अवैज्ञानिक पनि छ । यस्तो अवधारणले कसैको अस्तित्वलाई निषेध गर्छ । आञ्चलिकताको परिभाषा दिनुभन्दा पहिला कुन केन्द्र र कुन गैरकेन्द्र अर्थात् किनारा हो भनेर भन्ने आँट गर्नुपर्छ । केन्द्र र किनाराको परिभाषा दिनुपर्छ । साहित्यको सीमा हुँदैन भनिन्छ, सीमा नहुने साहित्यलाई केन्द्र र किनाराको अवधारणामा बुझ्न मिल्दैन । विश्व व्यवस्था सिद्धान्त (वर्ड सिस्टम थ्योरी) का पक्षपाती इमानुल वालिस्ट्रिन (सन् १९३०–२०१९) ले पुँजी, उत्पादन, स्रोतको दोहन वा खपत तथा श्रमका सन्दर्भमा केन्द्र, अर्ध–परिधि/किनार, परिधि/किनारमा रहेका देशहरू (कोर, सेमी पेरिफेरियल र पेरिफेरियल कन्ट्रिज) का मूभिका र स्थानबारे उल्लेख गरेका थिए । त्यसरी नै साहित्यका सन्दर्भमा सदर, मोफसल र दूर–मोफसल अथवा आञ्चलिकता भनेर नक्कल गर्नुको अर्थ रहँदैन । नेपालको सन्दर्भमा कुन हो केन्द्रीय र कुन हो आञ्चलिक साहित्यको भनेर छुट्ट्याउने प्राधिकार को हो ? बर्दियाको बडघर, जुम्लाको छाउपडीलाई विषय बनाएर लेखिएका उपन्यास, कथा वा नाटक त्यही क्षेत्रमा बस्ने समुदायका लागि कसरी आञ्चलिक हुन्छ ? त्यस्ता विषय काठमाडाैँका लागि आञ्चलिक हुन सक्लान् तर काठमाडौँले नै पूरा नेपालको सन्दर्भमा आञ्चलिक साहित्य भनेर बर्दिया र जुम्लालाई कसरी परिधि वा किनारका क्षेत्र भन्न सक्छ । काठमाडौँलाई त्यो अधिकार कसले दियो ? बर्दिया बर्दियाका लागि केन्द्र हो, थारूका लागि घडहर केन्द्रीय विषय हो । यसै गरी जुम्लाका लागि छाउपडी केन्द्रीय विषय हो । फेरि पनि दोह¥याउनु पर्छ ‘काठमाडौँ राजनीतिक राजधानी हो तर साहित्यको सदर, होइन जसले बर्दिया र जुम्लालाई मोफसल वा आञ्चलिक भन्ने अधिकार राखोस् ।’

साहित्यको उत्पादन हुन्छ, वितरण र खपत हुन्छ । यसका उपभोक्ता हुन्छन्, जसरी कुनै एक वस्तुको बजार चक्र हुन्छ । वस्तु जस्तो साहित्यलाई के आधारमा केन्द्रीय उत्पादन भन्ने ? अमेरिकीका लागि पिज्जा केन्द्रीय उत्पादन हुन सक्छ तर मैले खाने भातलाई उसले ‘किनारी’ उत्पादन भन्न पाउँदैन किनभने भात मेरो केन्द्रीय उत्पादन, वितरण र खपत हो, संस्कृति र चेत हो । साहित्यमा वालिस्ट्रिनको विश्व व्यवस्था (विश्व विश्लेषण) को सिद्धान्तले निरूपण गरे झैँ कुनै क्षेत्र वा देशहरूलाई केन्द्र, अर्ध–परिधि र परिधिका आधारमा वर्गीकृत गर्न सकिँदैन । गर्न पाइँदैन । साहित्यलाई वालिस्ट्रिनले भने जस्तो मूलतः ‘आर्थिक क्षेत्र’ भन्न सकिँदैन । 

साहित्यमा कुन वर्ग वा समुदायका कथा ‘केन्द्रीय’ हुन्छन् र कुन वर्ग वा समुदायका कथा ‘किनारी’ हुन्छन् ? उदाहरण दिऊँ न, नेपालको सन्दर्भमा बाहुन, क्षेत्री राणा, ठकुरीका कथामा रचिएका कथा/उपन्यास केन्द्रीय साहित्य हुने र चेपाङ, राउटेका अर्ध–यायावरी जीवन तथा दलितका भोगाइमा लेखिएका लेखन आञ्चलिक साहित्य हुने हो ? कि क्षेत्रका आधारमा काठमाडौँभित्र लेखिएका साहित्य ‘सदर’ र काठमाडौँको चार भञ्ज्याङबाहिर सिर्जित साहित्य ‘आञ्चलिक’ साहित्य हुन् ? साहित्यमा सदर र मोफसल, केन्द्र र किनार भन्ने अधिकार कसले राख्छ ?

आञ्चलिक भन्ने अमूर्त अवधारणबारे तर्क गर्नुभन्दा पहिले लेखक कुन अञ्चल (भूगोल) को प्रतिनिधि हो, पाठक कुन क्षेत्र वा अञ्चलका हुन् भनेर स्पष्ट हुनुपर्छ । साहित्यमा रैथाने स्वाद हुन सक्छ तर त्यो वर्तमान बुझाइको आञ्चलिकता भने होइन । भारत र नेपालमा पाइने कोकाकोलाको स्वाद फरक छन् भन्नुको अर्थ कुन केन्द्रीय र कुन किनार (परिधि) का उत्पादन हुन् भन्न मिल्छ ? विगतमा लेखकहरू कुनै निश्चित एक वर्गका थिए, जसले मात्र लेखापढाको अधिकार राख्दथे तर अहिले त्यस्तो ‘वर्ग भत्किँदै’ छ, त्यस्तो वर्गीय अधिकारको विघटन हुँदै छ । यस्ता वर्तमान परिस्थितिले लेखक, पाठक तिनले प्रयोग गर्ने विषय, शैली, भाषा, विम्बमा समाहिति तथा समिश्रण हुँदैछ । 

लेखकीय विषय र वर्गमा आएको बहुलताले अबका साहित्यमा शङ्ख–घण्ट मात्र नबज्न सक्छन्, तर ढोलक, नगरा, खोल, छालका सङ्गीत सुनिन सक्छन् ।  शङ्घ, घण्ट र ढोलक, नगरा, खोल, छालले प्रतिनिधित्व गर्ने वर्ग तथा समुदाय भिन्न छन् भन्नुको अर्थ एउटा वर्ग सदरी र अर्को किनारी (केन्द्रीय र आञ्चलिक) भन्ने हुँदैन । सामाजिक, राजनीतिक, आर्थिक अधिकार जस्ता अन्य सन्दर्भमा एक क्षेत्र सदर र अर्को मोफसल हुन सक्ला तर साहित्यमा यस्तो विभाजन अर्थहीन छ । बहसलायक छैन । साहित्यमा शब्दकोश वा राजनीतिक परिभाषाले भनेजस्तो सदर भन्नाले राजधानी र मोफसल भन्नाले राजधानी बाहिरका स्थान हुन सक्दैनन् । साहित्यले कसैको राजधानित्व, मालिकत्व स्वीकार गर्दैन । गर्न हुँदैन । साहित्यमा अञ्चल हुन सक्छ, आञ्चलिक हुँदैन । हुँदै हुँदैन । राजनीति र प्रशासनमामा सदर चिडियाखाना र सदर खाद्य गोदाम सुनिएको, भोगिएको छ तर साहित्य ‘सदर’ र ‘किनारी’ हुन सक्दैन । आफ्ना लेखनलाई ‘सदरी’ र अरूका लेखनलाई ‘किनारी÷ मोफसलीय वा आञ्चलिक साहित्य भन्ने जिमुआली कसैको पैतृजन्य अधिकार हुन सक्दैन । जहाँ साहित्य सिर्जना हुन्छ, साहित्यको राजधानी त्यही हो । बर्दियामा बसेर कसैले बडहरमाथि कथा लेख्छ भने त्यसका लेखक तथा पाठकका लागि बडघर र बर्दिया अर्थात् थारूका मूल्यमान्यता, मिथक, रहनसहन, जीवनशैली लोकपरम्परा नै केन्द्रीय विषय हुन्छन् । तर रैथाने पाठक र लेखकको अस्तित्व अस्वीकार गर्ने केन्द्रीयतावादीका लागि अञ्चलिकता ‘रम्य’ अवधारणा हुन सक्छ तर जहाँका पाठक र लेखक हुन्छन् तिनका विशेषतालाई स्वीकार गरिन्छ भने कस्ता विषय किन र कसरी आञ्चलिक हुन्छन् भन्नेमा स्पष्ट हुनुपर्छ । रैथाने विषयमाथिको लेखन आञ्चलिक साहित्य होइन बरु समुदायको केन्द्रीय प्रदर्शन हो । साहित्यमा रैथाने छाया रहन्छ, स्वाद रहन्छ । यसैका आधारमा ‘आञ्चलिक र सदर साहित्य’ भन्ने प्राधिकार कसैमा रहँदैन । कर्णालीलाई केन्द्र बनाएर लेखिएको आख्यान काठमाडौँका लागि आञ्चलिक हुन सक्ला तर कर्णालीका लागि सदर साहित्य हुन्छ भन्ने उदारता देखाउनु पर्छ । होइन भने काठमाडौँभित्रको चारभञ्ज्याङे साहित्य कर्णालीका लागि आञ्चलिक साहित्य हो भन्ने वैकल्प्य चेत राख्नै पर्छ । प्रतिरोधात्मक विचार आउनै पर्छ ।   

आञ्चलिकताले केद्रीय र किनार जस्ता क्षेत्रीयता तथा वर्गीयताको पक्षपोषण गर्छ । सर्जक तथा पाठकलाई सम्भ्रान्त र शोसित वर्गमा विभाजन गर्छ ।  नेपाली साहित्यमा कुन स्थान, कस्ता विषयहरू, शैली, विम्ब, परम्परा, भाषालाई केन्द्र भन्ने र कस्तालाई आञ्चलिक भन्ने भनेर कसैले स्पष्ट पार्न सक्दैन भने आञ्चलिकताको बहस अर्थहीन छ । व्यक्तिगत कुरा गर्ने हो भने, म काठमाडौँलाई ‘राजनीतिक राजधानी’ मान्छु । यसो गर्नुलाई म संविधान तथा कानुनको परिपालना भन्छु । 

एक नागरिकले यस्ता परिपालनामा बस्नुपर्छ तर साहित्यका सन्दर्भमा काठमाडौँलाई सदर (केन्द्र) वा राजधानी र बाहिरलाई मोफसल वा आञ्चलिक मान्दिनँ । भन्दिनँ । कुनै एक क्षेत्रको कथामाथि बुनिएका साहित्य सर्वदेशीय नहुने भएकाले नै वधुशिक्षा कुनै निश्चित समुदायका लागि सदर (केन्द्रीय) विषयवस्तु हुन सक्छ तर कुनै समुदायलाई नहुन सक्छ । यसै सन्दर्भमा छाउपडीलाई विम्ब, प्रतीक, उपमा, उपमेयलाई वियषवस्तुका बनाइएका लेखनलाई कसरी सालोडोलो एउटै मापदण्डले आञ्चलिक भन्न मिल्ला ? रैथाने साहित्यले सम्बद्ध पक्षमा सामीप्यता (प्रोक्सिमिटी) राख्दछ । पाठकले कुनै कथालाई आफ्नै व्यथा, आनन्द वा सोचाइ, भोगाइ समग्रम जीवन ठान्दछ भने त्यो साहित्य उसका लागि ‘केन्द्रीय’ हुन सक्छ । यही सत्यको धरातालमा उभिएर साहित्यमा आञ्चलिक चेतको विश्लेषण गर्नुपर्छ ।