• १५ मंसिर २०८१, शनिबार

वडाध्यक्षको पारिश्रमिकबाट विपन्नको बिमा र सुत्केरीलाई पोषण

blog

चितवन समाचारदाता

चितवन, साउन ७ गते  । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो पारिश्रमिकबाट ६१ परिवारको निःशुल्क स्वास्थ्य बिमा गराउनुभएको छ। 

आर्थिक वर्ष २०७९/८० मा वडाध्यक्षको हैसियतले आफूले पाउने एक वर्षको रकमबाट विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गराएको वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो। वडाध्यक्ष उप्रेतीले गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत बिमा बोर्डलाई दुई लाख १३ हजार पाँच सय रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ। वडाध्यक्ष उप्रेतीले भन्नुभयो, “वडावासीको स्वास्थ्यको विषयमा चुनावमा मैले जे बोलेको थिएँ, त्यो क्रमशः पूरा गर्दै जाने छु।”

आर्थिक अभावमा विपन्न नागरिकले सहज रूपमा स्वास्थ्य सेवा नपाएको हुनाले आफूले बिमा गराएको उहाँले जानकारी दिनुभयो। नवीकरण गर्न नसके आफैँले गराइदिने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ।

वडाध्यक्ष उप्रेतीको यो कामले गाउँपालिकाको गरिमा वृद्धि भएको तथा सामाजिक कार्यमा जनप्रतिनिधिको उदारता र लगाव छ भन्ने कुरा यसले प्रस्ट पारेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो। 

इच्छाकामना चेपाङ समुदायको बाहुल्य भएको गाउँपालिका हो। यहाँका धेरै मानिस आर्थिक अभाव र चेतना कमीका कारण स्वास्थ्य बिमाबाट वञ्चित छन्। बिमा गराए निःशुल्क उपचार हुन्छ भन्नेसमेत जानकारी नभएका व्यक्तिको बसोबास रहेकाले स्वास्थ्य बिमा र समस्या पर्दा अस्पताल जानुपर्छ भन्ने सचेतना जगाउन आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। 

सुत्केरीलाई पोषण सामग्री

हेटौँडा समाचारदाताका अनुसार पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिना (केशव) ले आफ्नै खर्चमा सुत्केरी महिलालाई पोषण सामग्री उपलब्ध गराउनुभएको छ। 

उहाँले शनिबार बागमती शान्तिपुर चारपट गाउँकी ३० वर्षीया माइलीमाया लोप्चनलाई चार हजार रुपियाँ मूल्यको लोकल कुखुरा, तोरीको तेल, जिरा, धनिया, ज्वानु, मेथी, आयो नुन, मसला, साबुन घरमै पुगेर हस्तान्तरण गर्नुभएको थियो। 

वडाध्यक्ष तिमल्सिनाले भत्ताबापत प्राप्त हुने रकमले वडाभित्रका सुत्केरी महिलालाई साउन १ गतेदेखि उक्त पोषण सामग्री दिन थाल्नुभएको हो। “सुत्केरी महिलाको पोषणमा सुधार ल्याउने उद्देश्यले व्यक्तिगत खर्चबाट सुत्केरी पोषण सामग्री उपलब्ध गराउने निर्णय गरेको हुँ,” वडाध्यक्ष तिमल्सिनाले भन्नुभयो। 

उहाँले सुत्केरी भएको १५ दिनभित्र सम्बन्धित परिवारको सदस्यले वडा कार्यालयमा आएर जानकारी गराउनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रमाणपत्र (बर्थ सर्टिफिकेट) र बच्चाको जन्मदर्ता गराएको प्रमाणपत्र पेस गर्नुपर्ने बताउनुभयो। गत वर्ष यो वडामा ६० जना सुत्केरी भएको तिमल्सिनाले जानकारी दिनुभयो।