अमृतप्रसाद पौडेल
म्याग्दी, साउन ६ गते । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले गत आर्थिक वर्ष फलफूल तथा तरकारीजन्य सामग्री विक्रीबाट ६७ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ ।
आर्थिक वर्ष २०७९–८० मा ६७ लाख १९ हजार पाँचसय ७२ रुपियाँको तरकारी तथा फलफूलजन्य सामग्री बिक्रीबाट आम्दानी गरेको हो । केन्द्रले प्रशोधित वस्तुबाट २३ लाख ९० हजार सात सय ४५, ताजा फलफूलबाट १३ लाख ५८ हजार सात सय ९२, ताजा तरकारीबाट पाँच लाख १६ हजार नौ सय १० रुपियाँ आम्दानी गरेको छ ।
त्यस्तै, आलुको बीउबाट दुई लाख सात हजार दुई सय १२, तरकारी बीउबाट नौ लाख चार हजार एक सय ९२, तरकारीको बेर्नाबाट दुई लाख तीन हजार दुई सय १०, फलफूलका बिरुवा बिक्रीबाट सात लाख ६३ हजार आठ सय ९०, अन्य प्रशासनिक शुल्कको आम्दानी २० हजार गरेको छ । त्यसैगरी तीन लाख ५४ हजार छ सय २० रुपियाँ बिबिध शिर्षकमा आम्दानी गरेको छ ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले बिविध आम्दानीतर्फ क्रेप एप्पल बीउ, चिलिको बियाँ, सुकेको घाँसलगायतको बिक्री गरेको कुरा केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।
केन्द्रले स्याउ, नास्पाती, अङ्गुर, खुर्पानी, ओखर, कागजी बदाम, आरु, आरुबखडा, स्याउजस्ता फलफूलहरूको बिरुवाहरू बिक्री वितरण गर्नेगरेको छ । त्यस्तै प्रशोधित बस्तुहरू अन्तर्गत स्याउ ब्राण्डी, खुर्पानी ब्राण्डी, प्लम वाइन, खुर्पानी सुकुटी, खुर्पानी जाम, स्याउ जाम, स्याउ सुकुटी, साइडर लगायतका सामग्रीहरू बेच्ने गर्दछ ।
त्यस्तै शीतोष्ण वागवानी विकास केन्द्र मार्फाले ताजा फलफूलहरुमा स्याउ, आरु बखडा, आरु, नास्पाती, खुर्पानी, दाँते ओखर, हेजल नट, चिलि र अंगुर आदि बिक्री गर्नेगरेको छ ।
केन्द्रले ताजा तरकारीहरु काउली, बन्दा, गोलभेडा, सिमी कोसा, काँक्रो, ब्रोकाउली, प्याज हरियो, फर्सी (जुकुनी), भण्टा, रायो साग, भेडे खुर्सानी, पिरो खुर्सानी, आलु र लसुन बिक्री गर्दा पाँच लाख १६ हजार नौ सय १० रुपियाँ ५० पैसा आम्दानी गरेको जनाएको छ ।