• १५ मंसिर २०८१, शनिबार

कांग्रेस चितवनको १५ दिने अभियान सुरु

blog

नेपाली कांग्रेस चितवन ।

चितवन, साउन ६ गते । नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आज (शनिबार) देखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो । अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम गरिनेछ ।

नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिनेछ । अहिले वितरण गरिएको साधारण सदस्यलाई एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिन सकिनेछ । चौधौँ  महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए । 

अभियानका क्रममा पार्टीका गतिविधिमाथि छलफल तथा अन्तरक्रिया हुनेछन् । सबै वडाले यही साउन २० गते वडा सम्मेलन सम्पन्न गरिसकेपछि पालिका, प्रदेश र क्षेत्रको सम्मेलन गरिने उहाँले जानकारी दिनुभयो । पालिका, प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न गरी आगामी भदौ २४ गते जिल्ला सम्मेलन गर्ने गरी अभियानलाई अघि बढाइएको सभापति खनालले जानकारी दिनुभयो । रासस