• १५ मंसिर २०८१, शनिबार

अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ

blog

गोरखापत्र अनलाइन

तारकेश्वर (काठमाडौं), साउन ६ गते । कसैले चाहेर अपाङ्गता हुने  नभएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । 

तारकेश्वर नगरपालिका वडा नं. ४ ले निर्माण गरेको अपाङ्गतामैत्री सार्वजनिक शौचालयको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा राख्नुभएको हो ।

नगरका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटीले एक कार्यक्रमकाबीच अपाङ्गता मैत्री सार्वजनिक शौचालयको आज चाबी खोलेर उद्घाटन गर्नुभयो ।

सोही वडाका अपाङ्गता भई ह्वीचयेरको प्रयोग गर्नुहुने सरस्वती तिमिल्सिना र हिमा ओझाले एकदमै राम्रो काम भएकोमा खुसी व्यक्त गर्नुभयो । शौचालय भए पनि त्यहाँ जान नसक्दा धेरै समस्या भोग्नु परेको थियो तर अब वडा कार्यालयमा आउँदा सजिलो हुने भयो, सरस्वतीले भन्नुभयो । 

नगरप्रमुख कृष्णहरि महर्जनले १३ औँ नगर सभाले पारित गरेको नीति तथा कार्यक्रममा एक वडा एक सार्वजनिक शौचालय बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले नगरमा एक घर एक धारा कार्यक्रमका लागि पानीको स्रोत पहिचान गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । एक नगरदेखि अर्को नगरसम्म जोड्ने सडकको निर्माण कार्य भइरहेको छ भन्नुभयो । 

उपप्रमुख सिर्जना बुर्लाकोटीले कसैले चाहेर अपाङ्गता हुने होइन, त्यसैले अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्न आग्रह गर्नुभयो । नगरमा करिब २०० जना बसोबास गर्दै आउनु भएको छ । उहाँले विद्यालय, सार्वजनिक कार्यालय मात्र होइन आफ्नै घर निर्माण गर्दा पनि अपाङ्गतामैत्री संरचना बनाउनुपर्छ भन्नुभयो । 

प्रमुख कार्यकारी अधिकृत डा.कृष्णबहादुर घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ भन्नुहुँदै ११ वडामा सार्वजनिक शौचालय निर्माणको प्रक्रिया अगाडि बढेको छ भन्नुभयो । 

डा. घिमिरेले नगरप्रमुख महर्जनले आफूले पाउने तलब, भत्ता विपन्न तथा असहाय वर्गलाई वितरण गर्ने गरेको जनाउनुभयो । 

वडा नं. ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठले करिब १७ लाखको लागतमा बनेको अपाङ्ग मैत्री शौचालय निःशुल्क प्रयोग गर्न दिने तयारी गरिएको छ भन्नुभयो । 

कार्यक्रममा नगरप्रमुख महर्जनको आजै जन्म दिन परेकाले वडा नं. कार्यालयले सम्मान गर्दै सगुन खुवाएको छ ।