अमरराज नहर्की
तनहुँ, साउन ५ गते । खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पीपलटारका बासिन्दाको खानेपानी समस्या समाधान भएको छ ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले सङ्घीय सरकारको अर्थ र खानेपानी मन्त्रालयले उक्त आयोजनाका लागि ८० लाख बजेट वैशाख अन्तिम हप्तामा विनियोजन गरेपछि समस्या समाधान भएको हो ।
काम सुरु भएको ५० दिनमा खानेपानीको इन्टेक र रिजर्भ ट्याङ्की निर्माण, नयाँ पाइपलाइन बिछ्याउने र घर–घरमा धारा जडान गरी पानी उपलब्ध गराउने काम पूरा भएको समितिका अध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिनुभयो । काम पूरा भएसँगै एकसय ३८ घर परिवार लाभान्वित भएको अधिकारीले बताउनुभयो ।
गत चैतमा हत्या गरी खानेपानी ट्याङ्कीमा फालिएको महिलाको शव भेटिएपछि नयाँ खानेपानी आयोजना सुरु गरिएको सचिव चन्द्रकुमार मल्लले बताउनुभयो । पोखरा महानगरपालिका –३३ बागमाराकी ४२ वर्षीया शान्ति श्रेष्ठको शव हत्यापछि ट्याङ्कीमा फालिएको अवस्थामा भेटिएको थियो ।
पानीमा दुर्गन्ध आउन थालेपछि ट्याङ्की खोलेर हेर्दा शव भेटिएको थियो । सचिव मल्लले भन्नुभयो, “सांसद भण्डारीले तत्काल काम अघि बढाउन निर्देशन दिएपछि बजेट विनियोजन भई काम सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् खानेपानी पुनःस्थापना आयोजनाको यही साउन ७ गते आइतबार सांसद भण्डारीले उद्घाटन गर्ने कार्यक्रम राखिएको समितिले जनाएको छ ।
नेपाली कांग्रेस तनहुँका सदस्य तथा स्थानीय बासिन्दा हुतमणि अधिकारीले सांसद भण्डारीले सम्बन्धित निकायलाई तत्काल काम गर्न भनेको र कामबारे बारम्बार चासो दिएकोले काम चाँडै सम्पन्न भएको जानकारी दिनुभयो । शव भेटिएको पानीको ट्याङ्की सफा गरे पनि पानी नखाने स्थानीयले बताएपछि नयाँ योजना सञ्चालन गरिएको उहाँले बताउनुभयो । स्थानीय बासिन्दा शव भेटिएछि पूजापाठसमेत गरेको अधिकारीले जानकारी दिनुभयो ।