• १२ वैशाख २०८१, बुधबार

विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी

blog

नगरप्रमुख विष्णुप्रसाद भुषाल विद्युतीय प्रणालीमार्फत राजस्व भुक्तानी गर्दै । तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, साउन ५ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा सङ्कलन गर्ने कामको सुरु गरेको छ । कावासोती नगरपालिकाको सभाहलबाट क्यूआर कोडबाट भुक्तानीको सुरुवात गर्दै नगरप्रमुख विष्णुप्रसाद भुषालले क्यूआर कोड सेवा सुचारु भएपछि सेवाग्राहीलाई आफ्नै मोवाइलमार्फत राजस्व शुल्क तिर्न सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा पहिलो सेवाग्राही रामकुमार श्रेष्ठले कनेक्ट आइपिएसमार्फत मालपोत कर भुक्तानी गर्नुभएको थियो । राजस्व भुक्तानी गर्दै श्रेष्ठले प्रविधिमैत्री पालिका निर्माणमा यो सेवाले इँट्टा थप्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले दुई चार सय रुपियाँ कर तिर्नकै लागि दिनभरको समय खर्चिनुपर्ने र लाइन बस्नुपर्ने बाध्यता हट्दा खुसी लागेको छ । पायक पर्नेलाई त ठिक थियो तर अलि टाढाबाट आवतजावत गर्दा करभन्दा बढी खर्च हुने गरेको थियो । नगरपालिकाले प्रत्येक वडामा क्यूआर कोडमार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेर सहज बनाएको छ ।”

नगरपालिकाका सूचना प्रविधि अधिकृत रुपेश गिरीका अनुसार सेवाग्राहीले आफ्नो करदाता पोर्टलमा लगइन गरी आफ्नो सम्पति विवरण एवम् करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्नेछन् । साथै वालेटमार्फत लोकल गभर्नमेन्ट पेमेन्टमा कावासोती नगरपालिका छनाेट गरी सिधै भुक्तानी गर्न सकिनेछ । 

पछिल्लो समय पालिकाले सूचना प्रविधिमार्फत विभिन्न सेवा उपलब्ध गराएको हुँदा आफूहरुले जनताको घर घरमा सेवा सम्बन्धी जानकारी दिन डिजिटल साक्षरता कार्यक्रम समेत सँगसँगै लैजाने उहाँले बताउनुभयो । नगरभित्र रहेका आम सेवाग्राहीले घरमै बसी ईसेवाको माध्यमबाट भूमिकर, सम्पति कर, घरबहाल कर, व्यावसायिक करलगायतको कर तिर्न सक्ने बताउनुभयो  ।

कावासोती नगरपालिकाका १७ वटा वडामा क्यूआर कोड राखिने हुँदा आफ्नै घरमा बसेर पनि राजस्व शुल्क तिर्न सकिने हुँदा सर्वसाधारणलाई वडा-वडामा धाइराख्नुपर्ने झन्झटबाट मुक्त हुने प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले बताउनुभयो । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न यसले टेवा पुयाउने विश्वास लिइएकोे बताउनुभयो ।