• १५ मंसिर २०८१, शनिबार

निर्वाचनमा महिलाहरूबिच नै प्रतिस्पर्धा हुनुपर्छ : डा. आरजु

blog

केन्द्रीय कार्य समितिको बैठकमा धारणा राख्नुहुँदै नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य डा. आरजु राणा देउवा।

काठमाडौं, साउन ५ गते । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले निर्वाचनमा महिलाहरूबिच नै प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ । उहाँले महिला महिलाबिच प्रतिस्पर्धा गराएर ३० प्रतिशत महिला आउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा चौथो दिन जारी केन्द्रीय कार्य समितिको बैठकमा शुक्रबार धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

डा. राणाले भन्नुभयो, “निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनैपर्छ भनेको छ । हाम्रो पार्टीको योजना के हो ? अन्तिम गएर टर्च बालेर महिला खोज्ने हो कि, अहिले नै महिलाको मात्रै संविधान बनाउन हामी लवि गरौं । हामीले पहिला पनि लविङ  गरेको हो । अहिले आवाज उठ्यो कि, समानुपातिकमा आएको काम लाग्दैन भन्छन् । समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् न त ? महिला–महिलाबीच प्रतिस्पर्धा गरेर एकतिहाइ सिट पठाऔं हामी ।”

यस्तै, उहाँले दलित पनि सधैँ समानुपातिकमा आउने कुरा नहुने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “त्यस्तै गरेर दलितको लागि पनि आरक्षण संस्था बनाउन प¥यो । उहाँहरु जहिले पनि समानुपातिकमा आउने ? समानुपातिकमा एक चोटिभन्दा नराख्ने राम्रो कुरा हो । खोज्दै खोज्दै गर्दा जुनियर मान्छे आइदिने । पार्टीको मर्म नै नबुझेको मान्छे राजनीतिमा ल्याएर के हुन्छ ”

उहाँले व्यक्तिको प्रतिबद्धता हेरेर मात्र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने बताउनुभयो । सार्वजनिक स्थानमा पार्टीको खुला आलोचना गर्न नहुने धारणा उहाँको छ ।

उहाँले भन्नुभयो, “खुलारुपमा आलोचना नगरौं । राजनीति द्वापर र त्रेतायुगमा असहज कुरा हो । कलियुगमा राजनीति गर्न डराएर बस्ने हो भने मैदान छोडेर जानुपर्‍यो । हाम्रो भोट हामी आफैं काटिरहेका छौं ।”

उहाँले महामन्त्री गगनकुमार थापाको प्रतिवेदन राजनीतिक दस्तावेजभन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धि के हो त ? क्लियर भएन भन्नुभयो ।

महामन्त्रीको प्रतिवेदनमा दूरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना नदेखेको चर्चा गर्दै उहाँले प्रतिवेदनमा राजनीति दस्तावेज पनि हुन्छ होला भनी सोचेंको तर त्यस अनुसार नआएको गुनासो पनि गर्नुभयो । 

नेत्री देउवाले सम्बोधनका क्रममा सातवटा विषयमा केन्द्रित भएर आफ्नो धारणा राख्नु भएको थियो । 

नेत्री देउवाका सात सुझाव

१. सुशासनमा जोड

२. पार्टीको घोषणापत्रलाई सरकारको कामकारवाहीसँग जोड्ने

३. संगठन विस्तारमा प्रशिक्षणलाई प्राथमिकता

४. सार्वजनिक रुपमा पार्टी र नेताका बारेमा आलोचना नगर्ने

५. नेपालमै युवाहरु बस्ने वातावरण निर्माणका लागि रणनीति बनाउने

६. परराष्ट्र नीतिका बारेमा

७. समानुपातिक समावेशी प्रतिनिधित्वका बारेमा