आजको युग विज्ञान र प्रविधिको हो। हरेक समस्या समाधानका लागि आजभोलि वैज्ञानिकता प्रयोग गरिन्छ। आजको युगको मानिसले आफ्नो मस्तिष्कको यति विकास गरिसकेको छ कि चन्द्रमामा आफ्नो अन्तिम स्टेसन बनाउँदै छ। जहाँ विज्ञान हरेक क्षेत्रमा व्याप्त छ तर व्यक्ति र समाज अन्धविश्वास, सङ्कीर्णता, रूढिवादिता तथा पूर्वाग्रहबाट लिप्त छ।
मानिस सामाजिक प्राणी हो। मानिस समाजमा जन्मिन्छ, हुर्किन्छ। समाजबाट नै उसले जीवन जिउने कला सिक्छ। नेपालको सामाजिक संरचनामा धेरै राम्रा, सकारात्मक र रचनात्मक पक्ष हुँदाहुँदै पनि केही कु–संस्कार, अन्धविश्वास र अशिक्षाको कालो बादल नेपाली आकाशमा मडारिइरहेको छ। जसले सामाजिक विचलन मात्र होइन, कतिपय अवस्थामा विकासको मुहान पनि अवरुद्ध बन्दै आएका छन्। जुनसुकै समाजको गति सामाजिक मूल्य र मान्यताको धरातलमा अगाडि बढेका हुन्छन्।
तसर्थ समाजमा शिक्षा र चेतनाको स्तर माथि नउठेसम्म परम्परागत रूपमा जरो गाडेर बसेका विभिन्न रूप र स्वरूपमा लिएका रूढिवादी परम्परा र अन्धविश्वासले राज गरिरहेको हुन्छ। आस्था, विश्वासको बलियो प्रतिरूप हो। धार्मिक आस्था, वैचारिक आस्था, सांस्कृतिक आस्था सबै विश्वास मानिसले उसले प्राप्त गरेका सूचना र जानकारी, अध्ययन, चिन्तन मनन गरेर बनाएको हुन्छ र अन्धविश्वास पनि व्यक्तिले आफूलाई विकसित गर्दै जाँदा प्राप्त गरेका ज्ञान र अनुभवका आधारमा बनाएका धारणाको स्वरूप हो।
नेपाली समाज अझै पनि पितृसत्तात्मक प्रभुत्वमा अडेको छ। अन्धविश्वासका कारण नेपाली समाजको चेतनास्तर माथि उठ्न सकेको छैन। फलस्वरूप समाज विकासको बाधकका रूपमा धेरै अन्धविश्वासको जालोले नेपाली समाजलाई अहिलेसम्म जेलिरहेको छ। लैङ्गिक तथा जातीय विभेद, छुवाछुत, बोक्सी, छाउपडी, दाइजो, कुमारी, कमलरी प्रथालगायत धेरै प्रथारूपी अन्धविश्वासले नेपाली समाजका दूरदराजलाई समय समयमा ठगिरहेको छ। जसमा विशेष गरी शैक्षिक र आर्थिक रूपमा कमजोर वर्ग यसको सिकार भइरहेका छन्।
सुदूरपश्चिमका नारीमा मासिक श्राव हुँदा छोइछाउ भएमा देउता रिसाउने भन्ने भ्रममा पर्दा घरबाट कैयौँ कोस टाढा गोठमा बस्नुपर्ने बाध्यता ज्युँका त्युँ छ। जातजातिको नाममा उपल्लो जातले तल्लो जातलाई गरिने व्यवहार संस्कारको अन्त्य हुन सकेको छैन। यी र यस्ता गुप्त रूपमा रहेका अनेक अन्धविश्वासको जालोले जेलिएका नेपाली समाजमा अन्धविश्वासको अन्त्य नहुन्जेलसम्म समृद्धिको बाजा जति घन्काए पनि त्यो नारा लक्षित समुदायमा पुग्नेवाला छैन।
हाम्रो देशको मूल कानुन संविधानमा माथि उल्लिखित मानवताविरोधी अपराधलाई दण्डनीय मानिए पनि कानुनको आँखा छलेर र अज्ञानताको पराकाष्ठाका रूपमा हुने यस्ता अन्धविश्वास र अमानवीय कार्यबाट तितो सत्य हामीसामु जगजाहेर छ। यसर्थ सम्पूर्ण धर्म, संस्कार र संस्कृतिले मानवको अहित नचाहेको भए पनि हाम्रो समाजका केही स्वार्थी र पापी मानिसले स्वार्थपूर्तिका लागि मानवताविरोधी त्यस्ता अन्धविश्वासलाई काँधमा बोकेर हिँडेको पाइन्छ। अन्धविश्वासले मानिसलाई आधुनिक विज्ञान र प्रविधिमा भन्दा अलौकिक शक्तिमा निर्भर हुन सिकाएको छ। यसले हाम्रो समाजमा नराम्रो असर पारिरहेको छ।
अन्धविश्वासी कार्यले समाजलाई समानुकूल हिँड्न अवरोध गर्दछ। यति मात्र होइन, अन्धविश्वासले व्यक्तिको खोज, अनुसन्धान, चिन्तन मनन गर्ने, आलोचना, समालोचना गर्ने सोचको अन्त्य गर्दै अन्धभक्तको जन्म दिन्छ। समाजलाई अग्रगतिमा जानबाट अवरोध सिर्जना गर्दछ। विद्वान्हरू भन्छन्, “जहाँ अन्धविश्वास छ त्यहाँ स्वतन्त्रता र समानता त छैन छैन, नैतिकतासमेत पाइँदैन।” हामी दैवी शक्तिमा यति विश्वास गर्छौं कि प्रमाण हेरेर सत्यता खोज्नै लाग्दैनौँ। यही लापरबाहीपन पनि अन्धविश्वासको कारण बन्न पुग्छ। पिछडिएका र अशिक्षाभित्रको अँध्यारोमा नाचेका कारण पनि राज्यबाट यससम्बन्धी कार्यक्रम नहुनाले अन्धविश्वास तथा रूढिवादी परम्परा हट्न सकेको छैन।
आदिम मनुष्य अनेक क्रिया र घटनाका कारण जान्न पाउँदैनथ्यो। अज्ञानतावश उसको धारणा थियो कि यी सबैको पछि कुनै अदृश्य शक्ति छ। वर्षा, बिजुली, रोग, भूकम्प, वृक्षपात, विपत्ति आदि अज्ञान तथा अज्ञेय देव, भूत, प्रेत र पिशाचहरू प्रकोपका परिणाम मानिन्थे। ज्ञानको प्रकाश भएर पनि यस्ता विचार हराएर गएनन्, मात्र यी अन्धविश्वास मानिन थालिए। आदिकालमा मनुष्यको क्रियाकलापको विस्तार भयो तब अन्धविश्वासको जाल फैलियो र यिनको अनेक शाखा–प्रशाखा भए। अन्धविश्वास सार्वदेशिक र सार्वकालिक छ। कहीँ न कहीँ विज्ञानको प्रकाशमा पनि यो लुकेर बस्छ। यसको कहिले सर्वथा उन्मूलन भने नहोला।
अन्धविश्वासको नाममा कसैले भूत र बोक्सी हुन्छ भने त्यो व्यक्तिको विश्वासको कुरा हो तर त्यही विश्वासको आधारमा कुनै पनि व्यक्तिलाई भूत वा बोक्सी बनाएर हिंसा गर्न कसैलाई छुट छैन। पिछडिएको हाम्र्रो नेपाली सामाजिक संरचना, सांस्कृतिक परम्परा र संस्कारमा अन्धविश्वास रूढिवादी प्रचलनमा थुप्रै खराब कुसंस्कारगत प्रथा परम्पराहरू रहँदै आएका छन्। छाउपडी, देउकी, झुमा, बोक्सी प्रथा जस्ता प्रथा अन्धविश्वासका ज्वलन्त उदाहरण हुन्। २१ औँ शताब्दीमा आएर नेपाली समाज अन्धविश्वासको भूमरीमा रुमल्लिइरहेको छ।
नकारात्मक सोच र चिन्तन हाबी छ। महिनावारी हुँदा देवता रिसाउँछन् भन्ने डरले यो प्रथा अझसम्म पनि समाजमा उस्तै रहेको छ। डर यस्तो कुरा हो; जसले मान्छेलाई काबुमा पार्छ, बाध्यतामा पार्छ। यही डरकै कारणले छाउपडी, बोक्सीको धारणा समाजबाट हट्न सकेको छैन। यसै आधारमा पनि डरकै कारणले अन्धविश्वासको जन्म भएको हो। डर हुँदैनथ्यो भने बाहिर सरेकी महिलाले छुँदा न केही अनर्थ हुन्थ्यो न कोही काम्थ्यो। यसरी अन्धविश्वास जानी जानी पालियो। त्यस्तै पहिलेका मान्छेले मृत्युलाई स्वीकार गर्न सकेनन्; जसले उनीहरूको मनमा डर दियो, अन्धविश्वास दियो।
यस्तो अन्धविश्वासले मान्छेलाई यथार्थबाट आफैँलाई छुट्याएर झुठो कुरा हो भन्ने थाहा हुँदाहुँदै पनि नस्विकार्ने, हठी, स्वार्थी, बिनाबुद्धिको ट्वाँट, मानसिक दास र रूढिवादी धारणाको सिकार बनाउने काम ग¥यो। यस्तो अन्धविश्वासले ज्ञान वा बुद्धि हत्या गर्ने मन भ्रष्ट गर्ने काम गर्छ। व्यक्तित्व, अहमपन, विवेक, सोचाइ, क्षमता आदि सबै भ्रष्ट गरेर अन्धो बनाउँछ कि हामीले के गर्नुहुन्छ ? के गर्नु हुँदैन भन्ने कुरा नै थाहा हुँदैन। यसरी हाम्रो समाज पनि रूढिवादी धारणा र अन्धविश्वासको खाडलमा पुरिएको छ।
त्यसैले त प्राकृतिक प्रक्रिया महिनावारीप्रतिको अछुत धारणा अझसम्म गएको पाइँदैन। कल्पना, अनुमान र सोचाइले कतै छोइहाल्छ कि छोयो कि भनेर काम्न थाल्छन्। धामीले फाइँफुइँ गरेपछि जुरुक्क उठ्छन्। त्यही धामीले गर्ने कल्पना, अनुमान र सोचाइले कहिलेकाहीँ त्यही काम्ने रोग निको भयो भन्दैमा अन्धविश्वासमा रुमल्लिन्छन्। उनीहरूलाई थाहा हुँदैन कि यी त दिमागमा गराउने अवलोकन, अध्ययन, निरीक्षण र निर्णयमा हुने त्रुटि र मस्तिष्कको छक्याउने जाल वा चाल मात्र हो। काम्ने मान्छे होस गुमाउँछ, धामीले फाइदा लुट्छ।
अन्त्यमा नेपाली समाजलाई समयको गतिसँगै अगाडि बढाउन र युवाको चेतनशील र परिवर्तनशील सोचसँगै समाजलाई पुनर्जीवन दिन सक्नु पर्छ। हामी अहिले विज्ञान र प्रविधिको युगमा छौँ, त्यसैले हरेक व्यक्तिले आफ्ना आस्था र विश्वासलाई समयानुकूल र प्रगतिशील बनाउन समय चेतको विकास गर्न आवश्यक छ। कसैले भनेको, सुनेको वा मानेको आधारमा कुनै कुरालाई विश्वास गर्नु त्यस अनुरूप धारणा र व्यवहार गर्नु पर्छ। अन्धविश्वासलाई आँखा चिम्लेर विश्वास गर्नुभन्दा वैज्ञानिक कारण पनि खोज्नु पर्छ।
शिक्षा र चेतनाको स्तर कायम राख्न तर्क र तथ्यमा विश्वास गर्ने प्रवृत्ति बढाउनु पर्छ। वैज्ञानिक तथ्यमा विश्वास गर्नु पर्छ, भाग्यभन्दा पनि श्रम र परिश्रममा विश्वास गर्नु पर्छ। अन्धविश्वास होइन, आत्मविश्वासको विकास हुनु पर्छ। मानिस सामाजिक प्राणी भएकै नाताले पूर्ण तवरले समाजसँग जोडिएको हुन्छ। उसको हित, कल्याण, उन्नति समाजमा नै निर्भर हुन्छ। त्यसैले जहाँ मानव जीवन छ, त्यहाँ सामाजिक सम्बन्ध पनि छ। जहाँ सामाजिक सम्बन्ध छ त्यहाँ समाजको अस्तित्व पनि रहेको हुन्छ। व्यक्ति समाजको केन्द्रीय एकाइ हो। त्यसैले जुनसुकै समाजको गति सामाजिक मूल्य र मान्यताको धरातलमा अगाडि बढेको हुन्छ।
तसर्थ समाजमा शिक्षा र चेतनाको स्तर माथि नउठेसम्म परम्परागत रूपमा जरो गाडेर बसेका विभिन्न रूप र स्वरूप लिएका रूढिवादी परम्परा र अन्धविश्वासले राज गरिरहेको हुन्छ। मानव हितका लागि पुर्खाले गरेका आविष्कार, संस्कार, संस्कृति, धर्म र परम्परालाई बदलिँदो समयसँग अनुकूल बनाउन, हाम्रो संस्कार र संस्कृतिलाई वैज्ञानिक ढङ्गले स्थपित गर्न हाम्रा संस्कार, संस्कृति र परम्परामा क्रमिक सुधार र आंशिक परिवर्तन गरिनु अपरिहार्य छ।