• २८ जेठ २०८२, बुधबार

पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट

blog

वेस्टर्न ट्राभल्स मार्टमा आएका भारतीय टुर अपरेटरहरू कर्णालीमा राफ्टिङ गर्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २७ गते । पश्चिम नेपालका पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गरी भारतीय पर्यटकको सङ्ख्या बढाउने उद्देश्यका साथ नेपालगन्जमा आयोजना गरिएको वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण सम्पन्न भएको छ । 

नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको साझेदारीमा नाट्टा बाँके च्याप्टरले संयोजन गरेको वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करणबाट ठुलो सङ्ख्यामा भारतीय पर्यटक यस क्षेत्रमा ल्याउन सक्ने वातावरण बनेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो। 

भारतीय टुर अपरेटर र भारतीय पत्रकार लगायत पर्यटकीय क्षेत्रसँग जोडिएका अन्य विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको सो मार्टले पश्चिम नेपालका पर्यटकीय र धार्मिक स्थानको प्रचार प्रसार गर्न सफल भएको अध्यक्ष सिग्देलले बताउनुभयो । 

नाट्टाका पूर्व केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले वेस्टर्न ट्राभल मार्टको आयोजनापछि पश्चिम क्षेत्रको पर्यटकीय सम्भावनाले आशा जगाएको जनाउँदै दक्षिण सीमानालाई समस्या होइन सम्भावनै सम्भावनाका रूपमा बुझ्न वेस्टर्न ट्राभल मार्टले ढोका खोलेको बताउनुभयो । 

भारतीय टुर अपरेटरहरूको नेतृत्व गर्दै ट्राभल्स एन्ड ट्रेड वेलफेयर एसाेसिएसन लखनउका अध्यक्ष राजेश सिन्हाले नेपाल आउन भारतीयहरू लालायित भएको जनाउँदै उनिहरूलाई नेपाल आउन जान र बस्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

शान्ति र प्राकृतिक र रमणीय सौन्दर्य तथा राम्रो मौसमका कारण नेपाल भारतीय पर्यटकको पहिलो रोजाई बन्न सक्ने जनाउँदै उहाँले त्यसका लागि नेपाल सरकारले आवागमन सहज र सरल बनाउनुपर्ने माग गर्नुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मार्टकै कारण पछिल्लो समयमा नेपालगन्जमा भारतीय पर्यटक आउने क्रम बढ्दै गएको बताउनुभयो । 

कार्यक्रममा सहभागि भारतीय टुर अपरेटर तथा पत्रकारहरूलाई बाँकेमा रहेका क्यासिनो, तारे होटल, ट्राभल्स र एयरलाइन्सको भ्रमण गराएर विभिन्न जानकारी दिईएको नाट्टा बाँके च्याप्टरका सचिव भागिराम ओलीले बताउनुभयो । 

उनीहरूलाई बाँके र बर्दिया निकुञ्जको भ्रमण गराउनुका साथै कर्णाली नदीमा राफ्टिङ समेत गराइएको ओलीले बताउनुभयो । सोही मार्ट अन्तर्गत नेपालगन्जको त्रिभुवन चौक पुर्वलाईनमा रैथाने खाना महोत्सव (फुड लेन) सञ्चालन गरिएको थियो । दुई दिन चलेको सो महोत्सवमा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । 

उक्त रैथाने खाना प्रवर्धन कार्यक्रममा चाट, दही–बारा, पानीपुरी, सेलरोटी, जुस, मःम, चाउमिनका स्टलहरू राखिएका थिए । सङ्घीयता कार्यान्वयन अघि गुल्जार रहेको नेपालगन्ज बजार सङ्घियतापछि सुक्दै गएकोले नेपालगन्ज बजारलाई पुरानो अवस्थामा फर्काउन यस्ता कार्यक्रम आवश्यक रहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाटले बताउनुभयो ।