गजेन्द्र गुरुङ
खजुरा, साउन ३ गते । बाँके जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७ सय १२ नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा जम्मा ८ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत रमेश बहादुर बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा ८ सय ३६ ले कम उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगतर्फ तीन सय ६५ उद्योग दर्ता भएका छन् । त्यसैगरी उत्पादनमूलक उद्योगतर्फ एक सय ४०, पर्यटन उद्योगतर्फ एक सय ३२ र सेवामूलक उद्योगतर्फ दुई सय ३९ गरी जम्मा ८ सय ७६ उद्योग दर्ता भएको निमित्त प्रमुख उद्योग अधिकृत रमेश बहादुर बुढाथोकीले बताउनुभयो । ती उद्योगहरूमा दुई अर्ब ११ करोड ९० लाख ७९ हजार रुपियाँ कूल लगानी रहेको उहाँले बताउनुभयो ।
उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्षमा तीन सय १४ उद्योग नवीकरण भएको र एक सय ६० उद्योग खारेजी भएका छन् भने नयाँ उद्योग दर्ता तथा नवीकरणबाट सो आर्थिक वर्षमा ८५ लाख ३० हजार १ सय ५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।
स्थापना भएका उद्योगहरूमा चार सय ७७ महिला र चार सय ७७ जना नै पुरुष गरी जम्मा ९ सय ५४ जना उद्यमी रहेका छन् भने एक हजार ३ सय ७१ जना महिला र दुई हजार १ सय २७ पुरुष गरी कूल ३ हजार ४ सय ९८ जनाले रोजगारी पाएको बुढाथोकीले बताउनुभयो ।
त्यसैगरी, वाणिज्यतर्फ भने नयाँ फर्म दर्ता गर्नेको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७९/८० मा ८ सय ७४ नयाँ फर्म दर्ता भएका छन् । जसमध्ये आठ सय ५८ प्राइभेट फर्म र १६ साझेदारी फर्म दर्ता भएको उद्योग अधिकृत बुढाथोकीले बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ मा २ सय १९ प्राइभेट फर्म र २ साझेदारी गरी जम्मा दुई सय २१ फर्म दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७९/८० मा नयाँ फर्म दर्ताबाट ३३ लाख ९९ हजार ४ सय ९५ रुपियाँ र नवीकरण, नामसारी, ठाउँसारी लगायतका अन्य स्रोतबाट ४३ लाख ७६ हजार ६ सय रुपैयाँ गरी कूल ७७ लाख ७६ हजार ९५ रुपियाँ राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो । उक्त आर्थिक वर्षमा घरेलु कार्यालयले एक हजार २ सय ४७ फर्मको नवीकरण, २७ फर्मको नामसारी, ५७ फर्मको ठाउँसारी, ९८ फर्मको अन्य उद्देश्य थप, ३ सय १२ फर्म लागत कट्टा, ४४ फर्म नाम संशोधन, १ सय ३७ फर्म प्रतिलिपि, ४ सय ९३ फर्मको पूँजीवृद्धि लगायका सेवा प्रदान गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा ५ करोडसम्म लगानी भएका उद्योगहरू मात्र दर्ता गरिने प्रमुख उद्योग अधिकृत बुढाथोकीले जनाउनुभयो ।