मुरारी अधिकारी
धादिङ, साउन ४ गते । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
पूर्ण खोप घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेसीमा रहेको प्रादेशिक अस्पताल, धादिङ अस्पताललाई १०० बेड बनाउने गरी बागमती प्रदेशले नीतिगत रूप मै निर्णय गरेको र काम यसै महिना देखि सुरु हुने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले निकै महत्त्व दिएको बताउँदै स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्बन्धित स्वास्थ्यले खेल्ने भूमिका निकै महत्त्वपूर्ण हुने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेलले स्वास्थ्य स्वयमसेवीहरुको प्रोत्साहन भत्ता बजेटमा भुलबस छुट्न गएको भन्दै भत्ता कटौती नगरिने समेत बताउनुभयो ।
प्रदेशले बजेट विनियोजन गर्दा धादिङका ज्वालामुखी, नेत्रावती डवजोङ र खनीयबासमा तुलनात्मक रूपमा कमी देखिएकोले यसबारे पनि छलफल भइसकेकोले योजनाहरू थप गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।