• ६ पुस २०८१, शनिबार

आयआर्जनमा जोडिँदै महिला

blog

बाख्रापालनका लागि निर्माण गरिएको नमुना खोर । तस्विर : लीलाधर वली

लीलाधर वली 

घोराही, साउन ४ गते । दाङको गढवा गाउँपालिका–८ कोइलाबास डाँडा गाउँका महिलाहरू अहिले सङ्गठित रूपमा आयआर्जनमूलक तालिम सिक्न थालेका छन् । घरको कामकाज सकेर फुर्सदमा बस्ने गरेका महिलाहरू पछिल्लो समय आयआर्जनमूलक कार्यमा जोडिएका हुन् ।

आफू आयआर्जनमूलक कार्यमा लागे मात्रै परिवारलाई आर्थिक रूपमा सबल बनाउन सकिने भएकाले तालिमसँगै व्यवसाय पनि थालेको गढवा गाउँपालिका–८ कोइलाबास डाँडागाउँ निवासी अनन्तकुमारी चौधरी बताउनुहुन्छ । लालीगुराँस उद्यमी महिला समूहको अध्यक्ष समेत रहनुभएकी चौधरीले ३० वटा साना ठुला बाख्रापालन गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाख्रापालन सम्बन्धी तालिम लिएपछि परम्परागत रूपमा पाल्दै आएको पेसालाई परिमार्जन गरेर व्यावसायिक रूपमा गर्न थालेका छौँ, यसरी पाल्दा आम्दानी समेत बढी हुने रहेछ ।”

चौधरी जस्तै गढवा गाउँपालिका–५ सिमलतारा निवासी सावित्रा राना पनि खुसी हुनुहुन्छ । समुहमा आबद्ध हुनुभएकी रानाले अहिले २६ वटा बाख्रा व्यावसायिक रूपमा पाल्दै आउनुभएको छ । त्यहीबाट भएको आम्दानीबाट श्रीमान् र २ छोरीसहितको परिवारको खर्च चलाउने गरेको उहाँ बताउनुहुन्छ । समूहमा आबद्ध भई पशुको उचित व्यवस्थापन सम्बन्धी प्राविधिक तालिम लिएपछि व्यावसायिक बाख्रापालनमा जोडिएको उहाँ बताउनुहुन्छ । त्यसका लागि व्यवस्थित खोर समेत निर्माण गर्नुभएकी राना अझै बाख्राको सङ्ख्या बढाउने सोचमा छन् । उहाँले भन्नुभयो, “व्यवस्थित तरिकाले पेसा गर्दा आम्दानी पनि राम्रो हुने रहेछ जुन मैले बाख्रापालनबाट अनुभव गर्नपाए ।”

नमुना खोर निर्माणका लागि अनुदान पाउने गढवा गाउँपालिका ६ मतपुर पिपलडाँडा निवासी सरला हमालले पनि ४१ वटा बाख्रा पाल्दै आउनुभएको छ । हरियाली उद्यमी महिला समूहको सदस्य रहनुभएकी हमालको आयआर्जनको मुख्य स्रोत भनेकै बाख्रापालन भएको बताउनुहुन्छ । “पहिले २-४ वटा मात्रै बाख्रा पाल्ने गरेको थिएँ, त्यसरी दुःख उही हुने तर आम्दानी कम हुने भएपछि अहिले व्यावसायिक खोर निर्माण गरेर बाख्रापालन गर्दै आएकी छु,” उहाँले भन्नुभयो ।

उहाँहरू प्रतिनिधिमूलक पात्रहरू मात्रै हो, पछिल्लो समय धेरै महिलाहरू सिप सिकेर आयआर्जनमूलक कार्यमा जोडिनुभएको छ । परम्परागत रूपमा बाख्रापालन गर्दै आउनुभएका आर्थिक रूपमा विपन्न महिलाहरूलाई ग्रामीण महिला उत्थान केन्द्र दाङ, गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाबाट प्राविधिकसहित व्यवसायी गर्न चाहने महिलाहरूलाई आर्थिक सहयोग हुने गरेको परियोजनाका संयोजक वसन्तकुमार शर्मा बताउनुहुन्छ । 

परियोजनाले ८ जना विपन्न परिवारलाई जनही ७५ हजारका दरले जम्मा ६ लाख रुपियाँ नमुना खोर निर्माणका लागि अनुदान सहयोग गरिएको छ । उहाँका अनुसार पशुपालनसँगै परम्परागत तरिकाबाट तरकारी खेती गर्दै किसानहरूलाई परियोजनाबाट प्राविधिक ज्ञान, सीप, टनेल निर्माण, थोपा सिँचाइ, बिउविजनलगायतका सामग्रीहरू सहयोग गर्ने गरेको छ ।