ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख २८ गते। म्याग्दीको धलागिरि गाउँपालिका ४ स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमालको चुचुरोमा शनिबार स्वदेशी र विदेशी गरेर एकैपटक १३ आरोही पुगेका छन्। यो वसन्तकालीन यामको पहिलो आरोहण हो। प्रतिकुल मौसमको सामना गर्दै आरोही शनिबार धौलागिरिको शिखरमा पुगेका हुन्।
सेभेन समिट ट्रेक्सका तर्फबाट ६ विदेशी र ७ जना नेपाली शेर्पा सहितको आरोही टोलीले शनिबार बिहान धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो।
उहाँका अनुसार रोप फिक्सिङ लिडर लाक्पा शेर्पाको नेतृत्त्वमा विदेशी आरोही सहित शेर्पाको टोलीले डोरी टाँग्ने (रोप फिक्सिङ्) र भर्याङ राख्ने लगायतका काम गर्दै शनिबार धौलागिरिको चुचुरोमा पुग्न सफल भएका हुन।
उहाँले दिएको जानकारी रोप फिक्सिङ लिडर शेर्पा सहित तारामान तामाङ, पासाङ नर्बु शेर्पा, नजिवाङ पालजर शेर्पा, पुर्वाकुसाङ शेर्पा, पेमदोर्चे शेर्पा र पेमाचुम्बी शेर्पाले धौलागिरिको सफल आरोहण गरेका छन्। यसैगरी केही विदेशी आरोहिलेसमेत आरोहण गरेका छन्।
सेभेन समिटका प्रबन्धक गुरागाईंले भन्नुभयो, ‘‘हामी गर्वका साथ घोषणा गछौं कि मकालु लाक्पा भनेर पनि चिनिने लाक्पा शेर्पाको नेतृत्वमा डोरी फिक्सिङसँगै ६ जना आरोहीलाई लिएर निकै प्रतिकुल मौसमलाई पार गर्दै आरोही टोली सफलतापूवक धौलागिरिको शिखरमा पुगेको छ।’’ धौलागिरिको चुचुरोमा पुग्ने यो टोली वसन्तकालीन यामको पहिलो भएको उहाँले जानकारी दिनुभयो।
अन्य ६ जना विदेशी आरोही पनि चुचुरोमा पुग्ने क्रममा रहेको उहाँले बताउनुभयो। प्रतिकुल मौसमका कारण केही आरोही आधार शिविरबाट फर्किनुपरेको उहाँले बताउनुभयो।
पर्यटन विभागका अनुसार चालु वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका ९ जना पुरुष र ६ जना महिला गरी १५ विदेशी आरोहीले अनुमति लिएका छन्।