• १५ मंसिर २०८१, शनिबार

कांग्रेस बैठक तेस्रो दिन जारी : नेतृत्व परिवर्तन बेमौसमी बाजा

blog

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य उर्मिला नेपाल केसी ।

काठमाडौं, साउन ४ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य उर्मिला नेपाल केसीले पार्टीमा नेतृत्व परिवर्तनको विषय बेमौसमी बाजा भएको बताउनुभयो ।

सानेपास्थित बीपी स्मृति भवनमा तेस्रो दिन जारी केन्द्रीय कार्य समितिको बैठकमा समिति सदस्य केसीले कांग्रेसमा गुट, उपगुट रहेको कुरा जनमानससम्म पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस गुट, उपगुटमा पुगेको कुरा जनमानसमा पुगेको छ । दुई, दुई महिनामा हामीले केन्द्रीय समितिको बैठक बोलाएका छौँ । छलफल गर्दैछौं, यो बैठकले गुट, उपगुटको अन्त्य गर्नेछ भन्ने विश्वास छ । नेतृत्व परिवर्तन बेमौसमी बाजा जस्तो लाग्छ । अधिवेशन सकिएको धेरै समय भएको छैन । हामीले काम गर्ने मौका दिनुपर्छ ।”

उहाँले गत निर्वाचनमा गठबन्धनका कारण ठुलो पार्टी बन्न पुगेको श्रेय पार्टी सभापतिलाई दिनुभयो ।

समिति सदस्य केसीले भन्नुभयो, “हिजो हामी गठबन्धनमा गयौँ । सबैभन्दा ठुलो पार्टी बन्न पुगेको छ । यसको श्रेय पार्टी सभापति शेरबहादुरज्यूलाई दिन चाहन्छु । यो अवस्थामा आउन सक्ने थिएनौँ ।”

उहाँले पार्टीभित्र अगाडि बढ्न खोजेको महिलालाई विभिन्न लाञ्छना लाउने गलत प्रवृत्ति भएको बताउनुभयो ।

समिति सदस्य केसीले भन्नुभयो, “म एउटा महिला भएको कारणले महिलाको ३५ वर्षसम्म लामो समय राजनीति गर्दै जाँदा देखेँ । सत्य तितो हुन्छ । मङ्गलामा हुँदै गर्दा महिलाको नेतृत्व अगाडि बढ्न दिएको अवस्था थियो । पार्टीमा कुनै पनि महिला सक्षम छ, जसले नेतृत्व गरेर बढ्दा लाञ्छना लगाएर नेतृत्वमा जान नदिने कुराको घोर भर्त्सना गर्न चाहन्छु ।”